बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ। बुन्डेसलिगा प्रतिद्धन्द्धी आरबी लाइप्जिगलाई ५–३ गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।
सुपरकपको सर्वाधिक सफल बायर्नले लगातार तेस्रो पटक तथा समग्रमा १० औं पटक उपाधि जितेको हो। यसअघि बायर्नले १९८७, १९९०, २०१०,२० १२, २०१६, २०१७, २०१८, २०२० र २०२१ म उपाधि जितेको थियो।
रेड बुल एरिना लाइप्जिगमा शनिबार राति भएको खेलमा बायर्नलाई जिताउन जमल मुसिएला, साडियो माने, बेन्जामिन पाभार्ड, सर्ज जिनाब्री र लिरोए सानेले गोल गरे। लाइप्जिगका मार्सेल हाल्सटेनवर्ग, क्रिस्टोफोर एनकुकु र ड्यानियल ओल्मोले गोल गरेका थिए।
खेलको १४औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नले सुरूआती अग्रता लिएको थियो। ३१औं मिनेटमा मानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे ।
इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा पाभार्डले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो।
दोस्रो हाफमा केही सुधारिएको प्रदर्शन गरेको लाइप्जिगले गोल फर्काउने मौका पायो। खेलको ५९औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले गोल गर्दै लाइप्जिगलाई खेलमा फर्कने संकेत दिए। तर ६६ औं मिनेटमा जिनाब्रीले गोल गरेपछि बायर्नले ४-१ को अग्रता बनायो।
खेलको ७७ औं मिनेटमा क्रिस्टोफोर एनकुकुले पेनाल्टीमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। ८९औं मिनेटमा ड्यानियल ओल्मोले गोल गर्दै खेललाई ४–३ को रोमाञ्चक स्थितिमा पुर्याए। तर इन्ज्युरी समयको थप गरिएको आठौं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नलाई च्याम्पियन बनाए ।
जर्मन सुपर कप बुन्डेसलिगा च्याम्पियन र डिएफवी पोकल च्याम्पियनबीच नयाँ सिजन शुरु हुनुअघि खेल्ने प्रावधान छ। अब एक सातापछि बुन्डेसलिगासँगै अन्य घरेलु प्रतियोगिता शुरु हुनेछ।