आगामी भदौमा नेपालमा हुने महिला साफ च्याम्पियनसिपका लागि दुई वटा मैदान प्रशिक्षणका प्रयोग गरिने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार च्यासल रंगशाला र नेपाल आर्मी मुख्यालय भद्रकालीको मैदान अभ्यासका लागि प्रयोग हुने भएको हो।
भदौ २१ देखि असोज ३ सम्म दशरथ रंगशालामा हुने प्रतियोगिताका लागि नेपालले तयारी थालिसकेको छ।
नेपालको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन्।
नेपालमा लगातार दोस्रो पटक महिला साफ हुन लागेको हो। यसअघि सन् २०१९ मा विराटनगरमा महिला साफ भएको थियो।
प्रतियोगितामा नेपाल समूह 'बी' मा परेको छ। नेपाल रहेको समूह 'बी' मा भुटान र श्रीलंका छन्।
समूह 'ए' मा साविक विजेता भारत, पाकिस्तान, माल्दिभ्स र बंगलादेश परेका छन्।
पहिलेसम्म सम्पन्न भएका पाँच संस्करणकै उपाधि भारतले जितेको छ। नेपाल भने चार पटक फाइनल पुगेर पराजित भएको छ। चारै पटक नेपाल भारतसँग पराजित भएको थियो।