इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले क्लबका फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलकै दौरान रंगशाला छाडेका असन्तुष्टि व्यक्त गरेका छन्।
गत आइतबार घरेलु मैदानमा म्यानचेस्टरले स्पेनिस क्लब रायो भालेकानोसँग मैत्रीपूर्ण खेल खेलेको थियो। १-१ गोलको बराबरीमा सकिएको सो खेलकै क्रममा रोनाल्डो रंगशाला छाडेर बाहिर निस्किएका थिए।
रोनाल्डोको यो व्यवहारलाई प्रशिक्षक टेन ह्यागले ‘अस्वीकार्य’ भएको बताएका छन्।
रोनाल्डोले खेलको अन्तिम सीटी बजाउनुअघि रंगशालाबाहिर फोटो खिँचेका थिए। दोस्रो हाफमा उनको स्थानमा अमाद डियालो मैदान छिरेका थिए।
‘म पक्कै पनि यो राम्रो मान्दिन। यो अस्वीकार्य छ। हामी एक टोली हौं र अन्तिमसम्म रहनुपर्छ,’ प्रशिक्षकले भनेका छन्।
रोनाल्डोले टेन ह्यामको प्रशिक्षणमा पहिलो खेल खेलेका थिए। त्यसअघि रोनाल्डोले अघिल्ला पाँच मैत्रीपूर्ण खेल गुमाएका थिए। गत साता मात्र उनी म्यानचेस्टरको प्रशिक्षण टिममा सहभागी भएका थिए।
३७ वर्षीया रोनाल्डोले यो सिजन युनाइटेड छाड्न चाहेका छन्। उनी च्याम्पियन्स लिग खेल्ने टिमको खोजीमा छन्। तर उनले राम्रो विकल्प भने फेला पारेका छैनन्। यद्यपी ट्रान्फर विन्डो सकिन करिब एक महिना बाँकी छ।