दक्षिण अमेरिकी देशहरू अर्जेन्टिना, चिली, उरूग्वे र पाराग्वेले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी पेश गरेका छन्।
उरुग्वेले सन् १९३० मा प्रतियोगिताको पहिलो संस्करण आयोजना गरेको थियो। विश्वकप सुरू भएको शताब्दी पूरा भएको वर्ष उनीहरू दक्षिण अमेरिकामा विश्वकप आयोजना गर्न चाहन्छन्।
'यो महादेशको सपना हो,' दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने।
स्पेन र पोर्चुगलले पनि संयुक्त आयोजकका लागि यसअघि दाबी परेका थिए।
सन् १९३० को पहिलो संस्करणको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई हराएर विश्वकपको उपाधि जितेको थियो।
'अब धेरैपटक विश्वकप आयोजना हुनेछन्, तर प्रतियोगिता एकपटक मात्र १०० वर्ष पुग्छ र यो जन्मभूमीमा हुन आवश्यक छ,' डोमिङ्ग्वेजले थपे।
चिलीले सन् १९६२ मा विश्वकप आयोजना गरेको थियो भने सन् १९७८ मा अर्जेन्टिनामा विश्वकप आयोजना भएको थियो।
उरुग्वेको फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले भने, 'विश्वकप जहाँबाट सुरु भएको थियो, १०० वर्षपछि आयोजना गर्न यो सही दाबी हो।'
सन् २०२२ को विश्वकप कतारमा हुनेछ भने सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले संयुक्त आयोजना गर्नेछन्।
फिफाले २०२४ मा सन् २०३० को आयोजक चयन गर्ने योजना बनाएको छ।