नेपालका राष्ट्रिय फुटबल खेलाडी भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम पछिल्लो समय बढिरहेको छ। जसमा फरवार्ड विमल राना पनि थपिएका छन्।
विमल शुक्रबार अस्ट्रेलिया पुगेका छन्। उनी अस्ट्रेलियाको सिड्नी एयरपोर्टमा पुगेको भिडिओ अर्का पूर्वराष्ट्रिय खेलाडी विमल बस्नेतले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
बस्नेतले अस्ट्रेलिया जानुअघि मनाङ मर्स्याङ्दी क्लबबाट खेलेका थिए। डिफेन्डर बस्नेत हाल त्यहाँको स्थानीय सगरमाथा फुटबल क्लबबाट खेलिरहेका छन्।
लामो समय मनाङबाट खेलेका विमल रानाले दुई सिजनअघि ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग खेलेका थिए।
विमलले २०७५ चैतमा राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए। उनले कुवेतसँगको मैत्रीपूर्ण खेलका दौरान राष्ट्रिय टिमका डेब्यूको अवसर पाएका थिए। नवयुग श्रेष्ठको स्थानमा ७४ मिनेटमा मैदान छिर्दै विमलले डेब्यूको अवसर पाएका थिए।
उनले डेब्यू गरेको खेलमा नेपालले घरेलु टिम कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो। मनाङ मर्स्याङ्दीबाट उनले एएफसी कपको छनोट चरण पनि खेलेका थिए।
गत महिना तीन जना राष्ट्रिय फुटबलर अस्ट्रेलिया पुगेका थिए। फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेका छन्।
पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका ६ खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए।
तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए।