एन्फा एकेडेमीका उत्पादन हेमन्त थापा मगर फुटबलमा भविष्य खोज्दै अस्ट्रेलिया गएका छन्। हेमन्त शनिबार अस्ट्रेलिया गएका हुन्।
२४ वर्षीय हेमन्तले सन् २०१६ मा भारतविरुद्धको खेलमा राष्ट्रिय टिममा डेब्यू गरेका थिए। पछिल्लो समय उनले बन्द प्रशिक्षणमा स्थान बनाए पनि राष्ट्रिय टिममा स्थान बनाउन भने सकिरहेका थिएनन्।
नेपालका सबै उमेर समूहबाट खेलेका हेमन्तले सन् २०७२ मा काठमाडौंमा भएको साफ यू-१८ च्याम्पियनसिप जित्दा खेलेका थिए।
दुई सिजनअघि च्यासल युथबाट ए डिभिजन लिग खेलेका हेमन्तले गत सिजन थ्रीस्टार क्लबबाट लिग खेलेका थिए।
यसअघि शुक्रबार मात्र अर्का खेलाडी विमल राना अस्ट्रेलिया पुगेका थिए। फरवार्ड रानाले गत सिजन मनाङबाट लिग खेलेका थिए।
गत महिना तीन जना राष्ट्रिय फुटबलर अस्ट्रेलिया पुगेका थिए। फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर नवीन गुरुङ अस्ट्रेलियाको मेलवर्न पुगेका थिए। तीनै जना मेलवर्नको युनाइटेड एफसीमा आबद्ध भएर एमसीएसए प्रिमियर लिग २०२२ खेलिरहेका छन्।
पछिल्लो समय नेपाली फुटबलर भविष्य खोज्दै अस्ट्रेलिया जाने क्रम बढेको छ। यो वर्ष मात्रै राष्ट्रिय टिमबाट खेलेका ७ खेलाडी अस्ट्रेलिया गइसकेका छन्।
यसअघि सुमन लामा र आसिष लामा पनि अस्ट्रेलिया पुगेका थिए। त्यहाँको स्थानीय टिमबाट फुटबल खेलिरहेका सुमन र आसिष अघिल्लो वर्षसम्म राष्ट्रिय टिममा महत्वपूर्ण खेलाडी थिए।
तीन वर्षअघि मिडफिल्डर हेमन गुरुङ र गोलकिपर एनल न्यौपाने अस्ट्रेलिया गएका थिए। यस्तै जगजित श्रेष्ठ, विवेकप्रताप पन्त र विमल बस्नेत पनि अस्ट्रेलियामा स्थानीय टिमबाट खेलिरहेका छन्।