इर्लिंग हालान्ड (नर्वे), अलेक्जेन्डर इसाक (स्विडेन) र भिक्टर ओसिमहेन (नाइजेरिया) जस्ता उत्कृष्ट युवा फुटबलरलाई विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्चमा पहिलो पटक हेर्नको लागि कम्तिमा सन् २०२६ सम्म कुर्नुपर्नेछ।
किनभने हाल इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट खेलिरहेका हाल्यान्ड, स्पेनिस क्लब रियल सोसिडाडबाट खेलिरहेका इसाक र इटालियन क्लब नापोलीबाट खेलिरहेका भिक्टर ओसिमहेनका देश फिफा २०२२ मा छनोट हुन सकेनन्।
यी खेलाडीलाई विश्वकपमा देख्न कम्तिमा चार वर्ष कुर्नु पर्ने भए पनि केही युवा स्टारले फिफा विश्वकप २०२२ मा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
जोनाथन डेभिड (२२ वर्ष), देश : क्यानडा, खेल : ३२, गोल : २१
क्यानडाको समूह एफमा विपक्षी: बेल्जियम, क्रोएसिया, मोरक्को
उत्तर अमेरिकी छनोटमा क्यानडा शीर्ष स्थानमा रहदा जोनाथनको प्रदर्शन उच्च थियो। क्यानडा ३६ वर्षमा पहिलो विश्वकपमा पुग्दा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
उनको जन्म अमेरिकाको न्यूयोर्कमा भएको थियो। तर उनी तीन महिनाको हुँदा उनको परिवार हाइटी पुग्यो। फेरि छ वर्षको हुँदा क्यानडामा जान बाध्य भयो। उनले युवा स्तरमा अमेरिकाको टिमबाट खेल्न गरिएको प्रस्तावलाई अस्वीकार गरेका थिए।
लाउटारो मार्टिनेज (२४ वर्ष), देश : अर्जेन्टिना, खेल : ३२, गोल : २०
अर्जेन्टिनाको समूह सीमा विपक्षी: साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
हाल इटालियन क्लब इन्टर मिलानबाट व्यवसायिक खेल खेलिरहेका मार्टिनेज अर्जेन्टाइन टिममा स्टार खेलाडी लिओनल मेसीको स्ट्राइक पार्टनरको रुपमा स्थापित भएका छन्। मेसीसँग खेल्दा उनले १३ खेलमा ९ गोल गरिसकेका छन्।
अर्जेन्टिनाले २८ वर्षमा पहिलो पटक कोपा अमेरिका जित्दा मार्टिनेजले महत्वपूर्ण भूमीका निर्वाह गरेका थिए।
क्रिस्टोफर एनकुन्कु (२४ वर्ष), देश : फ्रान्स, खेल : ६, गोल : ०
फ्रान्सको समूह डीका विपक्षी: अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
जर्मन बुन्डेस लिगमा गत सिजन हाल्यान्ड र ३५ गोल गरेका रोबर्ट लेवान्डोस्कीको चर्चा थियो। तर बुन्डेसलिगा प्लेयर अफ द सिजनको अवार्ड क्रिस्टोफर एनकुन्नुले जिते।
यही वर्ष फ्रान्सको राष्ट्रिय टिममा बोलाइएका उनी उदायीमान आक्रामक मिडफिल्डर हुन्।
सन् २०१९ देखि जर्मन क्लब लाइपजिबाट ९४ खेल खेल्दा उनले ३१ गोल गरेका छन्। गत सिजन उनले जर्मन लिगका ३४ खेल खेल्दा ३३ गोलमा भूमीका निर्वाह गरे। जसमा २० गोल र १३ एसिस्ट समावेश छन्।
डार्विन नुनेज (२३ वर्ष), देश : उरुग्वे, खेल : ११, गोल : २
उरुग्वेको समूह एचका विपक्षी: कोरिया गणतन्त्र, पोर्चुगल, घाना
‘शार्पसुटर’ नुनेजको गति, चाल र फिनिशिङ अद्वितिय छ। यही सिजन पोर्चुगिज क्लब बेन्फिकाबाट लिभरपुलमा आबद्ध भएका नुनेजबाट उरुग्वेले २०२२ को विश्वकपमा धेरै आसा गरेको छ।
गरिबीका कारण नुनेजले झन्डै फुटबल छाडेका थिए। सन् २००२ मा कोरिया/जापानमा भएको विश्वकपमा इङ्ल्यान्डविरुद्धको खेलको विषयमा क्रिस्टियानो रोनाल्डोले दिएको अन्तर्वार्ता पढेपछि उनी फुटबलमा लाग्न प्रेरित भएका थिए।
डुसान भ्लाहोभिच, (२२ वर्ष), देश : सर्बिया, खेल : १४, गोल : ७
सर्बियाको समूह जीका विपक्षी: ब्राजिल, क्यामरुन, स्विट्जरल्याण्ड
भ्लाहोभिकलाई 'सर्बियन इब्राहिमोभिक' उपमा दिइएको छ। उनले २०१८ देखि २०२२ सम्म इटालियन क्लव फ्लोरेन्टिनाबाट खेले। जसमा उनले ९८ खेलमा ४४ गोल गरे। सन् २०२२ मा अर्को इटालियन क्लब युभेन्ट्समा आबद्ध भएपछि उनले १५ खेल खेलेर ७ गोल गरिसकेका छन्।
उनले इटालियन लिगको पछिल्लो तीन सिजनमा ७३ खेल खेल्दा ४५ गोल गरका छन्। बाल्यकालमा उनको सपना बास्केटबल खेलाडी र डाक्टर बन्ने थियो।