राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य एवम् मिडफिल्डर दीपा न्यौपानेले भारतको केरेला महिला लिग खेल्ने भएकी छिन्।
नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी उनी उक्त प्रतियोगिताका लागि आज दिउँसो नै भारत प्रस्थान गरेकी छिन्।
उनले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीबाट खेल्नेछिन्। केरेला महिला लिगको च्याम्पियन टोली आइलिगमा छनोट हुनेछ।
'प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु। यो मेरो विदेशमा पहिलो अवसरसमेत हो', उनले भनिन्।
हाल नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य सावित्रा भण्डारी पनि भारतमा छिन्। उनले गोकुलम केरेला क्लबबाट एएफसी कप खेल्दैछिन्।
केरेला प्रतियोगितामा गोकुलमसहित, केरेला ब्लास्टर, केरेला युनाइटेडलगायत १० टोलीको सहभागिता रहनेछ। केरेला लिगमा डन बोस्को साबिक उपविजेता हो। दीपाले दुई महिनाका लागि आफूले सम्झौता गरेको बताइन्। उनले आइलिगमा छनोट भए, त्यसमा पनि अवसर मिल्ने सम्भावना रहेको बताइन्।
डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पिआरविरुद्ध खेल्नेछ।