आगामी असोजमा दशरथ रंगशालामा बंगलादेशविरूद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको प्रशिक्षकमा प्रदीप हुमागाईँ नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल (एन्फा) ले आगामी असोज ११ गते नेपाल र बंगालदेशबीच मैत्रीपूर्ण खेल खेल्ने निर्णय समेत गरेको छ।
एन्फाको बिहीबारको केन्द्रीय कार्यसमिति बैठकले सो खेलका लागि हुमागाईँलाई प्रशिक्षक बनाउने निर्णय गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए।
ती केन्द्रीय सदस्यका अनुसार हुमागाईँलाई अहिलेका लागि सो खेलका लागि मात्र प्रशिक्षक बनाउने निर्णय गरिएको हो।
हाल नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिदामा छन्।
यद्यपी उनले मैत्रीपूर्ण खेलका लागि २६ खेलाडीको नाम पठाएको सार्वजनिक भएको थियो।
हाल अमेरिकामा रहेका हुमागाईँ एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए। त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए।
२०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक बनेका थिए। तर लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गरेको थियो।