अखिल नेपाल फुटबल संघ (एन्फा) मा गौरव थापालाई सहायक महासचिव नियुक्त गर्ने उपाध्यक्ष विराटजंग शाहीको प्रस्ताव असफल भएको छ।
बिहीबार बसेको एन्फाको केन्द्रीय कार्यसमिति बैठकमा उपाध्यक्ष शाहीले गौरव क्षमतावान् व्यक्ति भएकाले एन्फामा नियुक्त गर्नु पर्ने प्रस्ताव राखेका थिए।
भ्रष्टाचारको आरोपमा फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्वअध्यक्ष गणेश थापाका जेठा छोरा गौरवलाई नियुक्त गर्ने प्रस्ताव आए लगत्तै केही कार्यसमिति सदस्यले विरोध गरेका थिए।
एन्फा उपाध्यक्ष कुमार केसीले गौरवलाई नियुक्त गर्ने प्रस्ताव आएपछि विरोध गरेको सेतोपाटीलाई बताए।
‘गौरव जस्तो क्यापेवल मान्छेलाई एन्फामा ल्याउनु पर्छ भन्ने प्रस्ताव आएको थियो। तर हामीले विवादित व्यक्ति भनेर विरोध गर्यौं,’ केसीले भने।
बैठकमा अरू सदस्यले पनि विवादित व्यक्तिलाई एन्फामा ल्याउन नहुने भन्दै विरोध गरेपछि गौरवलाई नियुक्ति दिलाउने प्रस्ताव असफल भएको थियो।
एन्फा अध्यक्ष पंकजबिक्रम नेम्बाङले विशेष साधारणसभापछि मात्र सहायक महासचिव लगायतको पदमा नियुक्त गर्ने बताएपछि गौरवलाई एन्फामा भित्र्याउन नहुने केन्द्रीय सदस्यको मतमा बल पुगेको थियो।
एन्फाको विशेष साधारणसभा असोज १२ गते काठमाडौंमा गर्ने तय छ।
यसअघि गौरवले एन्फामा आफ्नो नियुक्तिको विषयमा लिएर विवाद भएपछि विज्ञप्ति नै निकाल्नु परेको थियो।
गौरवले आफूले एन्फामा कुनै पदका लागि कसैलाई अनुरोध वा दबाब नदिएको पनि दाबी गरेका थिए।
तर गणेश थापाले भने छोरालाई एन्फामा नियुक्त दिलाउनका लागि आफू पक्षका एन्फा पदाधिकारीसँग लगातार छलफल गरेका थिए। थापासँग भेट गरेर गौरवलाई नियुक्त दिलाउने विषयमा छलफल गरेको एन्फाका एक पदाधिकारीले सेतोपाटीसँगको अनौपचारिक कुराकानीमा स्वीकार गरेका थिए।
२०७२ को कात्तिकमा फिफाले एन्फाका पूर्वअध्यक्ष थापालाई १० वर्षको प्रतिबन्ध लगाउँदा उनका जेठा छोरा गौरव थापा पनि अप्रत्यक्ष रुपमा उक्त केसमा मुछिएका थिए। एसियाली फुटबल महासंघ (एएफसी) का तत्कालिन अध्यक्ष मोहमद बिन हमामले गौरवको खातामा एक लाख अमेरिकी डलर पठाएको समेत सार्वजनिक भएको थियो। त्यसपछि एएफसीका कर्मचारी गौरव जागिर छाडेर नेपाल फर्किएका थिए।
पछि गौरवको खातामा आएको पैसा घुस भएको ठहर गर्दै फिफाले प्रतिबन्ध लगाएको थियो।
सम्बन्धित समाचारहरू :-
गौरव थापाको दाबी- 'मलाई एन्फामा नियुक्त गर्दा फिफा र एएफसीलाई कुनै समस्या हुँदैन'
छोरालाई एन्फामा नियुक्ति दिलाउन गणेश थापाको कसरत