स्पेनिस ला लिगामा बार्सिलोनाले बराबरीबाट नयाँ सिजनको सुरूआत गरेको छ। घरेलु मैदानमा गएराति बार्सिलोनाले रायो भालेकानोसँग गोलरहित बराबरी खेल्दै सिजनको सुरूआत गरेको हो ।
क्याम्प नोउमा भएको खेलमा बल पोसेसन राख्दै पाहुना टोलीमाथि लगातार दवाव बढाए पनि बार्सिलोनाले रायो भालेकानोको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो। बार्सिलोनाको हरेक प्रयासमा गोलरक्षक स्टोल डिमिट्रिभेस्की बाधक बने ।
खेलको अन्त्यतिर बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। सर्जियो बुस्क्वेट् इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिदा बार्सिलोना १० खेलाडीमा समेटियो।
बार्सिलोनाले रायो भालेकानोविरुद्ध यसै समरमा क्लबमा आबद्ध गरेका रोबर्ट लेवान्डोस्की, राफिन्हा र आन्द्रेस क्रिस्टेन्सेनलाई पहिलो रोजाईमा तथा फ्रान्क केसीलाई दोस्रो हाफमा अवसर प्रदान गरेको थियो ।
यो बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन्।