इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जीत निकालेको छ । शनिबार राति भएको खेलमा साविक विजेता सिटीले बर्नेमाउथलाई ४-० गोल अन्तरले हराएको हो।
घरेलु मैदानमा सिटीलाई जिताउन इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक एक गोल गरे । बर्नेमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे।
पहिलो हाफमा ३ गोल गरेको सिटीका लागि खेलको १९ औं मिनेटमा इल्केले गोल गर्दै सुरूआती अग्रता दिलाए। ३१ औं मिनेटमा कभिन डी ब्रएनले गोल गर्दै अग्रता दोब्बर पारे।
त्यसको ६ मिनेटपछि फोडेनले गोल गर्दै सिटीलाई पहिलो हाफमा ३-० को अग्रता दिलाए।
दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको बर्नेमाउथले गोल गर्ने केही राम्रा प्रयास खेर फालेको थियो। खेलको ७९ औं मिनेटमा बर्नमाउथले आत्मघाती गोल सिटीलाई उपहार दिँदा सिटी फराकिलो जित निकाल्न सफल रहयो।
यस जीतसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जीत निकालेको छ। सिटी २ खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै, अन्य खेलमा साउथह्याम्पटन र लिड्स युनाईटेडले २-२, ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका थिए।