आगामी असोजमा हुने बंगलादेशविरूद्धको मैत्रीपूर्ण खेलका लागि युगलकिशोर राई राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षक नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार राईसँगै गोलरक्षक प्रशिक्षकमा विनोद डंगोललाई नियुक्त गरेको हो।
यसअघि नै एन्फाले प्रदीप हुमागाईँलाई मुख्य प्रशिक्षक नियुक्त गरिसकेको छ।
नेपालले असोज १९ गते बंगलादेशसँग काठमाडौंमा मैत्रीपूर्ण फुटबल खेल्ने कार्यक्रम तय भएको छ। यसका लागि एन्फाले आइतबार अनुभवी र नयाँ गरी ४० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
मैत्रीपूर्ण खेलका लागि यसअघि नियमित मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ जना खेलाडीको सूची एन्फामा पठाएका थिए। तर एन्फाले उक्त सूची खारेज गर्दै कार्यवाहक प्रमुख प्रशिक्षक प्रदिप हुमागाईंको सिफारिसमा ४० जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।
अलमुताइरीसँगको विवादका कारण टिमबाट बाहिरिएका १० मध्येका ९ जना खेलाडी टोलीमा फर्किएका छन्। प्रशिक्षकसँगको विवादपछि कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ टिमबाट बाहिरिएका थिए। लामा नेपालमा नभएकाले टोलीमा परेका छैनन्।
यी हुन् प्रशिक्षणमा बोलाइएका खेलाडी :
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, निशान खड्का, अमित तामाङ
मिडफिल्डर : सन्जोग राई, पुजन उपरकोटी, राजन गुरुङ, एरिक विष्ट, सेसेहाङ आङदाम्बे, सुदिप गुरुङ, सुरज ज्यु ठकुरी, सुवास गुरुङ, आवास लामीछाने, सुनिल बल, आयुष घलान्, सुजल श्रेष्ठ, अञ्जन विष्ट,
फरवार्ड : विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आषिश चौधरी, रितिक खड्का, जर्ज प्रिन्स कार्की, आषिश चापागाईँ, अविशेष रिजाल र भरत खवास ।