नेपाली राष्ट्रिय फुटबल टिमको कार्यवहाक प्रमुख प्रशिक्षकमा नियुक्त भएका प्रदीप हुमागाईँले बिहीबारदेखि राष्ट्रिय टिमको प्रशिक्षण सुरू गरेका छन्।
पहिलोपटक कुनै राष्ट्रिय टिमको प्रशिक्षक नियुक्त भएका हुमागाईँले आगामी असोज ११ गते दशरथ रंगशालामा हुने बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मात्र टिम हेर्ने जिम्मेवारी छ।
केही वर्षदेखि अमेरिकामा अवस्थित एकेडेमीस्तरको टिमलाई प्रशिक्षण दिइरहेका हुमागाईँ जिम्मेवारी सम्हाल्न मंगलबार राति नेपाल आइपुगेका थिए।
नेपाल आएपछिको तेस्रो दिन पत्रकारसँग अन्तरक्रिया गर्न उपस्थित हुमागाईँले आफूले पाएको जिम्मेवारीलाई अवसरमा बदल्ने बताए। उनी असोज ११ गते दशरथ रंगशालामा जितका लागि मैदान उत्रने योजनामा छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बिरामी भएका कारण बिदामा बसेकाले हुमागाईँलाई कार्यबहाकको जिम्मेवारी दिएको बताएको छ।
यद्यपी राष्ट्रिय टिमका सिनियर खेलाडीसँग विवादमा मुछिएका अलमुताइरीको बिकल्प खोज्न एन्फालाई छानविन समितिले सुझाव दिइएको थियो। अहिले हुमागाईँलाई प्रशिक्षक नियुक्त गरेर अलमुताइरीको बिकल्प खोज्ने दिशामा अघि बढेको देखिए पनि एन्फा प्रवक्ता सुरेश शाह मान्न तयार छैनन्।
खेलाडी र प्रशिक्षकसँगको विवादको विषयमा प्रशिक्षक हुमगाईँ पनि जानकार छन्। तर यो विषयमा आफूले कुनै प्रतिक्रिया नदिने हुमागाईँले बताए। आफ्नो ध्यान राष्ट्रिय टिमलाई बलियो बनाउन केन्द्रीय हुने र आफू त्यसका लागि नियुक्त भएको उनको भनाइ छ।
‘सबैको राष्ट्रिय टिमको प्रशिक्षक बन्ने सपना हुन्छ। मेरो लागि यो सरप्राइजिङ परिस्थिति पनि हो। तर म प्रशिक्षक बन्नका लागि धेरै अघि देखि तयार थिए। ममाथि गरिएको यो विश्वास हो,’ उनले भने।
दुई वर्षअघि अमेरिकाको नागरिकता लिएका हुमागाईँ एक दशकअघि थ्रीस्टार क्लबको प्रशिक्षक थिए। त्यतिबेला उनले थ्रीस्टारलाई ए डिभिजन लिगको च्याम्पियन बनाएका थिए।
२०७७ को अन्त्यमा उनी नेपाल सुपर लिग टिम ललितपुर सिटी एफसीका प्रशिक्षक बनेका थिए। तर लगातार चार खेलमा जितबिहीन बनेपछि ललितपुरले प्रशिक्षक प्रदीप हुमागाईँलाई बर्खास्त गरेको थियो।
अहिले नेपाल फर्कँदा राष्ट्रिय टिमको प्रशिक्षक बन्ने अवसर पाएका हुमागाईँले पहिलो चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई प्रशिक्षण गराउनेछन्।
प्रारम्भिक टिम
गोलरक्षक : किरण चेम्जोङ, विकेश कुथु, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : अनन्त तामाङ, रोहित चन्द, विकास तामाङ, देवेन्द्र तामाङ, दीनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, छिरिङ गुरुङ, सुमन अर्याल, रञ्जित धिमाल, निशान खड्का, अमित तामाङ, राजन गुरुङ
मिडफिल्डर : संजोक राई, पुजन उपरकोटी, तेज तामाङ, एरिक विष्ट, सेसेहाङ आङदेम्बे, सुदीप गुरुङ, विशाल राई, मनिष डाँगी, सुरज ज्यु ठकुरी, सुभाष गुरुङ, आवास लामिछाने, सुनिल बल, आयुष घलान, सुजल श्रेष्ठ, अन्जन विष्ट
फरवार्ड : विमल घर्तिमगर, नवयुग श्रेष्ठ, आशिष चौधरी, ऋतिक खड्का, जर्जप्रिन्स कार्की, आशिष चापागाई, अभिषेक रिजाल, भरत खवास