साविक विजेता रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार दोस्रो जित निकालेको छ। गए राति भएको खेलमा सेल्टा डि भिगोलाई ४–१ गोल अन्तरमा हराउँदै रियलले सानदार जित निकालेको हो।
सेल्टाको मैदानमा रियललाई जिताउन कप्तान करिम बेन्जेमा, लुका मोड्रिच, भिनिसियस जुयिनर र फेडे भाल्भेर्डेले गोल गरे। घरेलु टोलीका इयागो आसपासले एक गोल फर्काए ।
खेलको १४औं मिनेटमा कप्तान बेन्जेमाको पेनाल्टीबाट गोल गर्दै रियललाई सुरूआती अग्रता दिलाएका थिए।
तर २३औं मिनेटम इयागोले पेनाल्टीमार्फत नै गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
खेलको ४१औं मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई पहिलो हाफमा २–१ को अग्रता दिलाए।
५६औं मिनेटमा भिनिसियसले गोल गर्दै रियललाई ३-१ को स्थितिमा पुर्याए।
६६ औं मिनेटमा फेडे भाल्भेर्डेले गोल गरेपछि रियल खेलमा ४–१ ले अघि बढ्यो। ८७ औं मिनेटमा रियलले अर्को पेनाल्टी प्राप्त गरे पनि परिवर्तित खेलाडी इडेन हाजार्डले गोल गर्न नसक्दा फराकिलो जित निकाल्न सकेन।
त्यसपछि थप गोल निस्कन नसक्दा रियल ४-१ ले विजयी भयो ।
लगातार दोस्रो जितसँगै रियल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान ६ अंक नै रहे पनि रियल बेटिस र ओसासुना गोलअन्तरमा पछि छन्। पराजित सेल्टा १ अंक जोडेर १४ औं स्थानमा रहेको छ।