भारतीय फुटबलमा पूर्व कप्तान भाइचुङ भुटियाले अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को आगामी चुनावमा अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।
पूर्व कप्तान भुटियाको नाम राष्ट्रिय टोलीका खेलाडी दीपक मण्डलले प्रस्ताव गरेका हुन् भने मधु कुमारीले समर्थन गरेकी छन्। मधु कुमारी एक 'प्रतिष्ठित' खेलाडीको रूपमा मतदाता सूचीमा छिन्।
शुक्रबार आफ्नो उम्मेदवारी दिँदै भुटियाले खेलाडीको रूपमा मात्र नभएर कुशल व्यवस्थापकको रूपमा पनि आफू अब्बल रहेको दाबी गरे।
‘सर्वोच्च अदालतले खेलाडीलाई उम्मेदवार बन्न अनुमति दिने निर्णयलाई ध्यानमा राख्दै मैले प्रतिष्ठित खेलाडीको प्रतिनिधिका रूपमा उम्मेदवारी दर्ता गरेको छु।, म आशावादी छु कि खेलाडीहरूले भारतीय फुटबलको सेवा गर्ने मौका पाउनेछन्’, उनले भने, ‘हामी खेलाडीको रूपमा मात्र होइन प्रशासकको रूपमा पनि राम्रो हुन सक्छौं भनि देखाउन चाहन्छौं।’
आफ्नो गोल-स्कोरिङ कौशलको लागि 'सिक्किम्स स्निपर' को रूपमा परिचित ४५ वर्षीय पूर्व कप्तानलाई भारतकै महान फुटबलर मध्ये एक मानिन्छ।
उनी भारतका लागि १०० भन्दा बढी खेल खेल्ने पहिलो फुटबलर हुन्।
सन् १९९५ मा भारतका लागि डेब्यु गरेका भुटियाले कतारमा २०११ को एसियन कप खेलेपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए।
उनले आफ्नो करियरमा जेसीटी, ईस्ट बंगाल र मोहन बगान जस्ता शीर्ष भारतीय क्लबहरूको प्रतिनिधित्वसमेत गरेका छन्।
साथै उनले इङ्ल्यान्डको एफसी ब्युरी (१९९९ देखि २००२) बाट केही सिजन खेलेका थिए।
यस्तै दिल्ली फुटबलका अध्यक्ष साजी प्रभाकरनले पनि आगामी नेतृत्वका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। यस्तै पूर्व खेलाडी युगेनसन लिङ्दोह र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीका भाइ अजित बनर्जीले पनि उम्मेदवारी दर्ता गराएका छन्। लिंगडोहले मेघालय फुटबल संघबाट उम्मेदवारी दर्ता गराएका छन्, जो हाल विधायक छन्।
भुटिया जस्तै, मोहन बगान र ईस्ट बंगाल दुबैबाट खेलेका भारतका पूर्व गोलकिपर चौबेले पनि अध्यक्षको दाबी गरेका छन्। चौबे केन्द्रमा सत्तारुढ बीजेपीका सदस्य हुन्, उनलाई गुजरात फुटबल संघले प्रस्ताव गरेको हो भने उनको नाम अरुणाचल प्रदेश फुटबल संघले अनुमोदन गरेको छ।
देशका गृहमन्त्री अमित शाह गुजरातकै हुन् भने अरूणाञ्चलका किरेन रिजिजु कानूनमन्त्री छन्। एआएफएफ कार्यकारी समितिको चुनाव आगामी अगस्ट २८ मा नयाँ दिल्लीमा हुँदैछ।
फिफा देशको सर्वोच्च निकाय प्रख्यात खेलाडीहरूद्वारा चलाउने पक्षमा नभएकोले चौबे अध्यक्षको दौडमा अगाडि देखिएका छन्।
यसै साता एआईएफएफलाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निलम्बन गरेको छ।
फिफाले सोमबार तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) लाई निलम्बन गरेको हो।
जसका कारण भारतमा आयोजना हुने तय भएको यू-१७ महिला विश्वकप त्यहाँ नहुने भएको छ भने भारतले फिफाका अनुमतिप्राप्त फुटबल गतिविधि गर्न पाउने छैन।
इन्डियन सुपर लिग, आइ-लिगसहित भारतले साफका प्रतियोगिता एसियन कपसमेत खेल्न पाउने छैन। मैत्रीपूर्ण खेलमा पनि भारतको अनुपस्थिति हुनेछ। यस्तै एएफसीको क्लब फुटलब प्रतियोगितामा पनि भारतका क्लब सहभागी हुन पाउने छैनन्।
निलम्बनका कारण भारतीय फुटबलमाथि झड्का लागेको छ। निलम्बनबाट मुक्त हुन अब भारतले फिफाका मापदण्ड पालना गर्नुपर्छ।
फिफाले निकालेको विज्ञप्तिअनुसार अदालतले गठन गरेको तदर्थ समितिले काम गर्न पाउने छैन भने एआइएफएफले दैनिक गतिविधि आफ्नो नियन्त्रणमा रहेको हुनु पर्नेछ।
दुई साताअघि भारतको सर्वोच्च अदालतले तुरून्तै चुनाव गराउन आदेश दिँदै निर्वाचित समिति तीन महिनाको अवधिको लागि अन्तरिम निकाय हुने बताएको थियो। जसलाई फिफाले तेस्रो पक्षको हस्तक्षेप मानेको छ।
अब एआइएफएफ फिफाको निलम्बनबाट मुक्त हुनका लागि स्वतन्त्र रुपमा निर्वाचन गर्दै हस्तक्षेत्र बिना दैनिक काम गर्न सक्ने हुनुपर्नेछ।
यसअघि फिफा काउन्सिल सदस्य समेत रहेका प्रफुल्ल पटेलको नेतृत्वमा डिसेम्बर २०२० मा एआइएफएफको चुनाव हुने तय थियो। तर विधान संशोधनको कारणले गर्दा चुनाव गराउन ढिलाइ भएको थियो।
फिफाको विधानअनुसार सदस्य संघ आ-आफ्नो देशमा कानुनी र राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्दछ। फिफाले हस्तक्षेप भएका कतिपय संघलाई निलम्बनसमेत गर्ने गरेको छ।