इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटी र न्युकासल युनाइटेडले ३-३ गोलको बराबरी खेलेका छन्। खेलमा पहिले अग्रता लिए पनि पहिलो हाफमा सिटी २-१ गोलले पछि परेको थियो।
खेलको पाँचौ मिनेटमा गुन्डोआनको गोलबाट सिटीले अग्रता लियो। त्यसपछि न्युकासलका लागि अलमिरोनले २८ मिनेट र विल्सनले ३९ मिनेटमा गोल गरे।
दोस्रो हाफको सुरुवातमा पनि न्युकासलले गोल गर्दै अग्रता ३-१ मा पुर्यायो। उसका लागि ट्रिपियरले ५४ मिनेटमा गोल गरेका थिए।
३-१ गोलले पछि परेपछि सिटीका लागि हाल्यान्डले ६० मिनेट र बेर्नान्डो सिल्भाले ६४ मिनेटमा गोल गर्न सफल भए। जसका कारण सिटीले सम्भावित हार टार्यो।
लिगमा आर्सनल लगातार तीन जितबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको सिटीको ७ अंक छ। न्युकासल भने ५ अंकसहित छैटौं स्थानमा छ।