नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार लिम्बूले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टिमलाई बिगारेको आरोप लगाएका छन्।
बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा कुरा गर्दै गोलकिपर किरणले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले निश्चित समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिंगो फुटबल टिममा फाँटो आएको टिप्पणी गरे।
विगत १४ वर्षदेखि निरुन्तररुपमा राष्ट्रिय टिमबाट खेलिरहेका किरणसहितका ११ खेलाडीले सेवा सुविधाका लागि माग गर्दा प्रशिक्षक अलमुताइरी र सिनियर खेलाडीबीच विवाद भएको थियो।
विवादसँगै बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडीलाई बाहिर राखेर अलमुताइरीले नयाँ टिम बनाएका थिए। त्यसपछि कुवेत भ्रमणमा किरणसहितका सिनियर खेलाडी टिमबाट बाहिरिएका थिए।
गोलकिपर किरणले अन्य खेलाडीभन्दा आफूले टिमलाई विचलित बनाउने कुरा नगर्दा समेत टिमबाट आफू निश्कासित हुनुपरेको बताए।
बिनाकारण टिमबाट निकालिँदा सञ्चार माध्यमले सहयोग गर्ने अपेक्षा राखे पनि प्रशिक्षकलाई कुनै प्रश्न नगरेकोमा उनले गुनासो गरे।
उनले अलमुताइरीले आफूलाई टिम बाहिर राख्दा दुःख नलागेको तर प्रशिक्षकले नै टिम बिगारेकोमा भने दुःख लागेको बताए।
तत्कालका लागि नेपालमा फुटबल गतिविधि नभएको अवस्थामा नेपाली टिमले असोजमा बंगलादेशसँको मैत्रीपूर्ण खेल खेल्न लागेको छ। खेलका लागि नेपाली टिमका गोलकिपर किरण पनि माल्दिभ्सबाट फर्किएका छन्।
लगातार १४ वर्ष राष्ट्रिय टिमबाट खेलिरहेको अवस्थामा पछिल्लो समय टिमभन्दा बाहिर रहँदा आराम भएको उनले बताए। टिममा फर्किएपछि उनले कुनैपनि खेलाडीले राष्ट्रिय झण्डाका लागि खेल्ने बताए।
आगामी असोज ११ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने बंगलादेशबिरुद्धको मैत्रीपूर्ण खेलमा नेपाली टिमलाई सुखद् नतिजा दिलाउने प्रतिवद्धता कार्यबहाक प्रशिक्षक प्रदीप हुमागाईँले जनाए।
एक सातको अभ्यासमा अहिले टिम सामान्य लयका लागि प्रयास गरिरहेको छ। प्रमुख प्रशिक्षक अलमुताइरी बिदामा रहेकाले हुमागाईँलाई एन्फाले एक खेलका लागि कार्यबहाकको जिम्मेवारी दिएको हो।
खेलका लागि पहिलो साताको अभ्यास राम्रो भएको सहायक प्रशिक्षक युगलकिशोर राईले बताए। राष्ट्रिय टिममा दिएको जिम्मेवारी आफ्नो लागि मौका भएको भन्दै सहायक प्रशिक्षक राईले प्रमुख प्रशिक्षक हुमागाईँसँग काम गर्न सहज भएको प्रतिक्रिया दिए।
यसअघि एन्फाको पहिलो कार्यसमितिले प्रशिक्षकसँगको विवादका कारण खेलाडीलाई राष्ट्रिय टिममा फर्काउने निर्णय गरेको थियो। त्यहीँअनुसार हुमागाईँले अलमुताइरीले निकालेका खेलाडीलाई टिममा फर्काएका हुन्।
टिममा फर्केका सुजल श्रेष्ठले अभ्यासमा फर्किन पाउँदा उत्साहित भएको बताए। फेरि पनि मैदान फर्किएर सँगै एउटै टिममा अभ्यास गर्न पाउँदा निकै खुशी लागेको र नयाँ सुरुवातका साथ अगाडि बढेको बताए।
प्रशिक्षक हुमागाईले केही नयाँ खेलाडीलाई समावेश गर्दै पहिलो चरणको अभ्यासमा ४० खेलाडीलाई मौका दिएका छन्।