रियल म्याड्रिडले स्पेनिस ला लिगामा लगातार तेस्रो जित निकालेको छ ।
करिम बेन्जेमा र भिनिसियस जुनियरको गोलमा म्याड्रिडले १० खेलाडीमा समेटिएको घरेलु टोली स्पान्योलमाथि ३–१ को सहज जित निकालेको हो।
रियलको जितमा फ्रान्सेली फरवार्ड बेन्जेमाले दुई गोल गर्दा ब्राजिली विंगर भिनिसियसले एक गोल गरे। स्पान्योलका जोसेलुले एक गोल फर्काएका थिए।
आरसीडिइ स्टेडियममा आइतबार राति भएको खेलमा रियलले खेलको १२ औं मिनेटमा भिनिसियसले गोल गर्दै सुरूआती अग्रता दिलाएका थिए।
४३औं मिनेटमा घरेलु टोलीका जोसेलुले गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए।
लगभग बराबरीतर्फ धकेलिएको खेलको ८८औं मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई २–१ को अग्रता दिलाए।
त्यसपछि इन्ज्युरी समयमा घरेलु टोली १० खेलाडीमा समेटियो। गोलकिपर बेन्जामिन लिकोम्टेले ड्यानियल सेवालोसलाई फउल गरेपछि रेफ्रीले भिएआरको सहायतामा सिधै रातो कार्ड दिएर मैदान बाहिर पठाएको थिए। त्यसमै प्राप्त फ्रिकिकमा बेन्जेमाले सिधै गोल गर्दा रियलले सहज जित नकाल्यो।
यो जितसँगै लगातार तेस्रो जित निकालेको रियलले ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ। समान ९ अंक नै रहेपनि रियल बेटिस गोलअन्तरमा दोस्रो स्थानमा झरेको छ। यता पराजित स्पान्योल १ अंक जोडेर १६औं स्थानमा छ।