भदौ २१ देखि असोज २ सम्म दशरथ रंगशालामा हुने साफ महिला च्याम्पियनसिप २०२२ को सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ।
प्रतियोगितामा दुई समूहमा प्रतिस्पर्धा हुनेछ। पाँच पटकको च्याम्पियन भारत समूह ‘ए’ मा छ। समूहमा भारतसहित बंगलादेश, माल्दिभ्स र पाकिस्तान छन्।
समूह ‘बी’ मा आयोजक नेपाल, भुटान र श्रीलंका रहेका छन्।
प्रतियोगिताका सम्पूर्ण खेलहरू दशरथ रंगशालामा हुनेछन्। नेपालले आफ्नो पहिलो खेल असोज २१ मा भुटान र दोस्रो खेल असोज २७ मा श्रीलंकासँग खेल्नेछ। दुवै खेल ५:३० बजे सुरू हुनेछन्।
प्रतियोगिताका लागि तीन करोड ४७ लाख रुपैयाँ बजेट अनुमान गरिएको एन्फाले जनाएको छ। जसमा दक्षिण एसियाली फुटबल महासंघले २ लाख ५० हजार डलर दिनेछ भने एन्फाले हन्ड्रेड स्पोर्ट्सलाई प्रतियोगिताको टिकेटिङ, मार्केटिङ र बोर्डकास्टिङ अधिकार बेच्दै ६३ लाख रुपैयाँ लिएको छ।
प्रतियोगिताको लागि दशरथ रंगशालामा आएर खेल हेर्न चाहने दर्शकले साधारण प्यारपिट तर्फ ३ सय रुपैयाँ र भिआईपीतर्फ ५ सय रूपैयाँको टिकट काट्न पर्नेछ।