पूर्व फुटबलर कल्याण चौबे अखिल भारतीय फुटबल महासंघ (एआइएफएफ) को अध्यक्षमा निर्वाचित भएका छन्।
भाइचुङ भुटियालाई पराजित गर्दै उनी नयाँ अध्यक्ष बनेका हुन्।
उनले ३३ मत प्राप्त गर्दा भुटियाले एक मत मात्र ल्याए।
नयाँ दिल्लीमा आज मतदान भएको थियो। विजयी भएसँगै चौबे एआईएफएफको ८५ वर्षको इतिहासमा पहिलो फुटबलर अध्यक्ष बनेका छन्।
लद्दाख र जम्मू कश्मीर बाहेक भारतका ३६ फुटबल संघमध्ये ३४ लाई आजको चुनावमा मतदान गर्न अनुमति दिइएको थियो।
चौबे र भुटिया दुई पूर्व फुटबलर हुन्, उनीहरुले इस्ट बंगालबाट सँगै खेलेका थिए।
यसअघि सन् २००९ देखि प्रफुल्ल पटेल अध्यक्ष थिए। उनले दुई वर्षसम्म निर्वाचन गर्न नसकेपछि भारतीय फुटबल विवादमा फसेको थियो। जसका कारण फिफाले दुई साता निलम्बन समेत गरेको थियो। अहिले निलम्बन फुकुवा गरिएको छ।