पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ।
नान्टेसलाई उसकै मैदानमा ३–० ले हराउँदै पिएसजी अपराजित हरँदै लिगको शीर्ष स्थानमा कायमै छ।
१० खेलाडीमा समेटिएको नान्टेसमाथि पिएसजीको सहज जितमा एम्बाप्पेले दुई तथा नुनो मेन्डिसले एक गोल गरे।
नान्टेसमा शनिबार राति भएको खेलको १८औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीले सुरूआती अग्रता लियो। लियोनेल मेसीको पासमा उनले गोल गरेका थिए।
त्यसपछि खेलको २४औं मिनेटमा घरेलु टोली नान्टेस १० खेलाडीमा समेटियो। फावियो सिधै रातो कार्ड पाएर मैदान बाहिरिएपछि घरेलु टोली समस्यामा परेको थियो ।
नान्टेस १० खेलाडीमा समेटिन पुगे पनि पिएसजीले दोस्रो गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो।
खेलको ५४औं मिनेटमा मेसीकै पासमा एमबाप्पेले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ६८औं मिनेटमा मेन्डिसले गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।
यो जितसँगै अपराजित रहेको पिएसजी ६ खेलबाट ५ जित र १ बराबरीसँगै १६ अंक जोडेर शीर्षस्थानमा रहेको छ। समान १६ अंक नै रहे पनि मार्से गोल अन्तरमा दोस्रो स्थानमा छ। पराजित नान्टेस ६ अंक जोडेर १०औं स्थानमा छ।