पाकिस्तान महिला फुटबल टिमका लागि बुधबर एक ऐतिहासिक दिन हुँदैछ। साफ महिला च्याम्पियनसिपअन्तर्गत भारतविरूद्ध मैदान उत्रिएसँगै उनीहरूको आठ वर्ष लामो प्रतीक्षा समाप्त हुनेछ। दुई टिमबीच काठमाडौंको दशरथ रंगशालामा बुधबार प्रतिस्पर्धा हुन लागेको हो।
तीन वर्षपछि हुन लागेको साफ महिला च्याम्पियनसिपको समूह ‘ए’ मा भारत, पाकिस्तान, बंगलादेश र माल्दिभ्स छन्। समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान र श्रीलंका छन्। उद्घाटन खेलमा नेपाल र भुटानले मंगलबार प्रतिस्पर्धा गर्दैछन्।
सहभागी सात टिममध्ये पाकिस्तानको कप्तानका लागि यो साफ विशेष बन्दैछ। किनभने उनले डेब्यू खेलमा नै कप्तानी गर्दैछिन्।
अमेरिकामा जन्मेर हाल युएईमा फुटबल खेल्दै आएकी मारिया खानले पाकिस्तानको कप्तानको आर्मब्यान्ड लगाएर अन्तर्राष्ट्रिय डेब्यूका लागि मैदान उत्रनेछिन्।
३१ वर्षीया मारिया गोलकिपरबाट मिडफिल्डर बनेका खेलाडी हुन्। मारिया पाकिस्तान फुटबल महासंघले साफ कपका लागि छानेका दुई जना विदेशी क्लबबाट खेल्ने खेलाडीमध्येकी एक हुन्। मारिया २०१८ देखि पाकिस्तान फुटबलको हिस्सा रहेकी छिन्। उनी बन्द प्रशिक्षणमा मात्र नभएर राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा पनि सहभागी भएकी थिइन्।
मारियाले ६ वर्षको उमेरमा फुटबल खेल्न थालेकी थिइन्। उनले सन् २०१३ मा अमेरिकामा व्यवसायिक करिअर सुरु गरेकी थिइन्। आफ्नो पढाइ जारी राख्ने निर्णय गर्दै उनी युएईमा पुगेकी थिइन्। युएई जानुअघि उनले अमेरिकामा डेन्भर विश्वविद्यालयबाट फुटबल खेलेकी थिइन्। युएईमा हाल उनी स्थानीय क्लबबाट खेल्छिन्।
यता बेलायतस्थित डोनकास्टर रोभर्समा खेल्दै आएकी नादिया खान पनि साफ महिला कपमा पाकिस्तानको टिममा छिन्।
सन् २०१४ मा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्दा पाकिस्तानी महिला टिमको कप्तानी हाजरा खानले गरेकी थिइन्। हाजरा भने खेलाडीको रुपमा मात्र टिममा रहनेछिन्। मलिका-ए-नूरलाई उपकप्तान नियुक्त गरिएको छ। पाकिस्तानको अन्तिम खेल खेल्ने सन् २०१४ को टिमको उनी पनि सदस्य पनि थिइन्।
पाकिस्तानको टिममा पछिल्लो पटक राष्ट्रिय टिमबाट खेलेका सात खेलाडी छन्। पछिल्लो पटक खेलेका हाजरा र मलिका-ए-नूरसहित निशा अशरफ, रोशन अली, सहर जमान, महपारा शाहिद र जुल्फिया नाजिर पाकिस्तानको २३ सदस्यीय टिममा छन्।