नेपाली महिला राष्ट्रिय फुटबल टिमको कप्तानको जिम्मेवारी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पाएकी छिन्।
भोलिदेखि काठमाडौंको दशरथ रंगशालामा हुने छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपअघि एन्जिलालाई नेपालको कप्तानको जिम्मेवारी दिइएको हो।
यसअघिकी कप्तान रेनुका नगरकोटीले चोटका कारण साफ च्याम्पियनसिप गुमाएपछि एन्जिलालाई नयाँ कप्तान तोकिएको हो।
आफूलाई कप्तानको जिम्मेवारी दिएकोमा उनले खुसी व्यक्त गरिन्। ‘मलाई विश्वास गरेर कप्तानको जिम्मेवारी दिइएको छ,’ एन्जिलाले भनिन्, ‘यो जिम्मेवारीलाई पूरा गर्ने कोशिस गर्नेछु।’
भोलिदेखि सुरु हुने साफको उपाधि जित्ने लक्ष्य रहेको उनले बताइन्। ‘सबैलाई आफ्नो कप्तानीमा टिमलाई उपाधि जिताउने चाहना हुन्छ। मलाई पनि नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपाधि जिताउने चाहना छ,’ उनले भनिन्।
नेपालका प्रशिक्षक कुमार थापाले आफ्ना लागि टिममा रहेका २३ जना नै कप्तान भएको बताए। तर एक जनालाई कप्तान छान्नु पर्ने नियमअनुसार एन्जिलालाई अनुभवको आधारमा छनोट गरेको थापाले बताए।
भोलिदेखि सुरु हुने साफमा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भुटान र श्रीलंका पनि छन्। नेपालले आफ्नो पहिलो खेल भोलि भुटानसँग खेल्नेछ।
समूहमा ‘बी’ मा पाँच पटकको विजेता भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्।
नेपालकी नम्बर एक गोलकिपर एन्जिला
एन्जिला तुम्बापो सुब्बाले नेपाली राष्ट्रिय महिला टिमको गोलपोस्ट सम्हालेको ६ वर्ष भयो।
सन् २०१६ मा भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा श्रीलंकाविरूद्ध खेलमा एन्जिलाले राष्ट्रिय टिममा डेब्यू गरेकी थिइन्। त्यही वर्ष भारतमै भएको साफ महिला च्याम्पियनसिपदेखि उनी निरन्तर नेपाली टिमबाट खेलिरहेकी छिन्।
गोलपोस्टको लम्बाइ र उचाइमा उनलाई देशप्रतिको जिम्मेवारी छ। त्यही लम्बाइ र उचाइमा देशको जित र हार तय भइरहेको छ।
पाँचथरमा जन्मिएर इलामको सूर्योदय नगरपालिकास्थित तीनघरेमा हुर्केकी एन्जिलालाई फुटबल खेल्न सधैं सहज थिएन। बाल्यकालमा उनले खेल्न परिवारसँगै संघर्ष गर्नुपरेको थियो।
'जेठी आमापट्टिका दिदीदाइ फुटबल खेल्थे। त्यही देखेर मैले फुटबलबारे थाहा पाएँ,' एन्जिलाले सुनाइन्, 'दाइदिदीको पछिपछि लागेरै खेल्न जान थालेकी थिएँ।'
तर उनलाई घरबाट अनुमति थिएन। स्कुलबाट आउनेबित्तिकै कहिले पानी लिन त कहिले घाँस काट्न जानुपर्ने। उनी हतार हतार काम सकी भागेर खेल्न पुग्थिन्।
'बाबाले देख्नुहुन्छ कि भनेर लुकेर जान्थेँ। कहिले राती फर्किँदा खान पाउँदिन थिएँ। भोकै सुत्नुपर्थ्यो,' उनले भनिन्। तर भोलिपल्ट उनी यी सबै भुल्थिन्। फेरि भागेर मैदान पुग्थिन्।
उनीसँग खेल्ने बुट थिएन। खाली खुट्टा खेल्थिन्। कहिले च्यातिएर दिदीले फालेका जुत्ता लगाउँथिन्। च्यातिएकै जर्सी भिरेर हिँड्थिन्।
दिदीहरूले खेल्न छाडेपछि उनी मैदान पुग्ने एक्ली केटी भइन्। केटाहरूसँग खेल्नुपर्दा थोरै संकोचसँगै डर र अप्ठ्यारो थपिन्थ्यो।
'गाँउलेले तेरी छोरी केटाहरूसँग खेल्छे भनेकाले पनि होला परिवारले खेल्न नजान भनेको,' एन्जिलाको बुझाइ छ।
तर उनमा फुटबल खेल्ने भूत सवार थियो। कसैको कुरा सुनिनन्, 'संकोच भए पनि खेल्दा केटाहरूलाई छोइनु सामान्य मान्थेँ।'
यसैगरी भाग्दै, लड्दै, खेल्दै गर्दा उनी फिक्कलको पान्दोम टिममा परिन्। पान्दोमले जिल्लास्तरीय प्रतियोगिता खेल्दा उनी मिडफिल्ड वा फरवार्ड पोजिसनमा खेल्न गएकी थिइन्। तर टिमकी गोलकिपर आइनन्। उनलाई जबरजस्ती गोलकिपर पोजिसनमा खेल्न भनियो। मन नलागी नलागी एन्जिला गोलकिपर बनिन्।
पहिलो खेलमै उनले सोचेभन्दा राम्रो प्रदर्शन गरिन्। सबैले राम्रो खेल्यौ भनेर प्रशंसा गरे। उनको टिम जिल्ला च्याम्पियन बन्यो।
'दाइहरू र कोचले किपरमै राम्रो छौ भन्नुभयो। त्यसो नभनेको भए म मिडफिल्ड र फरवार्ड खेल्थेँ होला,' उनी सम्झन्छिन्, 'उहाँहरूले गोलकिपर खेले टिममा मौका पाउछौं भनेपछि त्यही रोजेकी हुँ।'
त्यसपछि विकास क्षेत्रस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट छनोट भयो। छनोटमार्फत उनले इलामको नम्बर एक गोलकिपर भएर खेलिन्। उनलाई गोलकिपिङ सिकाउने छुट्टै प्रशिक्षक थिएनन्। मुख्य प्रशिक्षकले नै अलिअलि सिकाउँथे।
पूर्वाञ्चल विकास क्षेत्रस्तरीय प्रतियोगितामा इलाम पहिलो भयो। २०६८, फागुनमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छानियो। उनी पूर्वाञ्चलको टिममा त परिन् तर टिममा सिनियर गोलकिपर भएकाले उनको खेल्ने सम्भावना न्यून थियो।
संयोग, त्यतिबेलै पहिलो रोजाइकी गोलकिपरको कक्षा ११ को परीक्षा थियो। त्यसपछि एन्जिलाले पूर्वाञ्चलबाट खेल्ने मौका पाइन्। १३ वर्षकै उमेरमा राष्ट्रिय खेलकुद प्रतियोगिता खेल्न पाउनु आफ्नो करिअरको 'टर्निङ प्वाइन्ट' मान्छिन्।
'सिनियर दिदी परीक्षा दिन नगएको भए सायद मैले मौका पाउँथिनँ,' उनले भनिन्। धनगढीमा १३ वर्षीया एन्जिलाले गजबको खेल देखाइन्। उनको खेलबाट सशस्त्र प्रहरीका व्यवस्थापक मोहित भए। एपिएफका नरकुमार राईले उनलाई एपिएफबाट खेल्ने प्रस्ताव गरे।
उनले परिवार र प्रशिक्षकलाई सोध्नुपर्ने जवाफ फर्काइन्। इलाम फर्केपछि उनलाई एपिएफबाट फोन आयो। घरमा सल्लाह भयो। जागिर दिने र पढाइदिने भनेपछि काठमाडौं जान पाउने भइन्। त्यस्तो प्रस्ताव नआएको भए उनले फुटबल खेल्न मात्र काठमाडौं आउने मौका सायदै पाउँथिन्।
२०६९ सालमा काठमाडौं आएर निजी स्कुलमा कक्षा ९ मा भर्ना भइन्। होस्टल बस्न थालिन्। एपिएफसँग करारमा सम्झौता थियो, मासिक ५ हजार रूपैयाँ पाउँथिन्।
‘मेरो तलब होस्टलको शुल्क तिर्दै सकिन्थ्यो। अरू खर्च पुग्थेन। त्यसैले धेरै पटक होस्टलबाट एपिएफ मैदान, हलचोक हिँडेरै गएँ,' उनले भनिन्।
सहरमा निजी स्कुल पढ्न पाउँदा सुरूमा उनलाई निकै खुसी लागेको थियो। तर पढाइ र प्रशिक्षणसँगै बढाउनु पर्दा उनी आत्तिइन्। विस्तारै बानी पर्दै गयो।
'सुरूमा गोलकिपिङबारे ज्ञान थिएन। एपिएफका चन्दन दाइबाट धेरै सिक्ने मौका पाएँ। उहाँले बत्तीको उज्यालोमा राती राती सिकाउनुहुन्थ्यो,' एन्जिला भन्छिन्, 'त्यहीबेलादेखि मैले टिममा गोलकिपरको भूमिका र गोलकिपरले के-के गर्नुपर्छ भन्ने राम्रोसँग सिकेकी हुँ।'
एपिएफ टिममा सिनियर गोलकिपरहरू थिए। तर १४ वर्षीया एन्जिलाले सिनियरलाई सुरूदेखि नै टक्कर दिन थालिन्। धेरै प्रयासपछि उनी १६ वर्षको उमेरमा एपिएफकी सिनियर गोलकिपरको विकल्प बन्न सकिन्।
पहिलो रोजाइमा निरन्तर पर्न उनी थप अभ्यास गर्थिन्। अन्य सदस्य प्रशिक्षण सकेर फर्किँदा पनि उनी अभ्यासै गरिरहन्थिन्। एपिएफको पहिलो रोजाइको गोलकिपर बनेपछि उनको ध्यान राष्ट्रिय टिममा केन्द्रित भयो। उनी सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पिनसिपमा पहिलोपटक राष्ट्रिय टिममा परे पनि खेल्ने मौका पाएकी थिइनन्।
सन् २०१६ मा भारतमा भएको १२ औं सागमा पनि उनले सुरूमा मौका पाउन सकिनन्। श्रीलंकाविरूद्धको खेलमा भने उनलाई पहिलो रोजाइमा खेलाइयो। सो खेलमा क्लिनसिट राख्दै उनले यादगार डेब्यू गरिन्।
राष्ट्रिय टिममा डेब्यू गरेपछि उनको लक्ष्य कसरी नम्बर एक गोलकिपर बन्ने मात्र हुन थाल्यो। फिटनेसका लागि आफैं प्रशिक्षण गर्न थालिन्। त्यही वर्ष अन्त्यमा भारतमै भएको महिला साफ च्याम्पियनसिपमा उनले मिहिनेतको फल पाइन्। सबै खेलमा उनी पहिलो रोजाइ भइन्।
त्योबेलादेखि उनले पछाडि फर्केर हेर्नु परेको छैन। निरन्तर राष्ट्रिय टिमको गोलपोस्टको जिम्मेवारी निर्वाह गर्दै आइरहेकी छिन्। एउटा संयोगले गोलकिपर बनेकी एन्जिलालाई कहिलेकाहीँ गोलकिपरको महत्व नबुझिदिँदा दिक्क लाग्छ।
'खेल जिताउने-नजिताउने किपरकै हातमा हुन्छ। गोलकिपरले राम्रो खेल्यो भने टिमले जित्ने सम्भावना बढी हुन्छ,' उनले दुखेसो पोखिन्, 'तर धेरैले गोलकिपरको भूमिका नबुझेको देख्छु। कहिलेकाहीँ गल्ती हुँदा गोलकिपरलाई गाली गरिन्छ। दस वटा जोगाएर एउटा गोल खाए यहाँ गोलकिपर नै झुर हुन्छ। स्ट्राइकरले दस वटा अवसरमा गोल नगरेर एक गोल हान्यो भने उही राम्रो हुन्छ, हाइलाइट हुन्छ, स्याब्बासी पाउँछ। यो कुरामा धेरै चित्त दुख्छ। कहिलेकाहीँ त किन गोलकिपर खेलेछु जस्तो हुन्छ।'
फरवार्डले गोल गर्न नसकेको दबाब पनि गोलकिपरले झेल्नु पर्छ। त्यसैले अरू पोजिसनभन्दा गोलकिपरको भूमिका बढी हुने र दोब्बर मिहिनेत पर्ने एन्जिलाको बुझाइ छ।
'गोलकिपर सबैको पछाडि हुन्छ। सबैको खेल देखिरहेको हुन्छ। त्यहीँमाथि गाइड गर्नुपर्छ। आफ्नो पोजिसनमा बस्नुपर्छ अनि बल पनि हेरिरहनुपर्छ,’ उनले भनिन्, 'जति प्रयास गर्दा पनि विपक्षीले गोल छिराउँदा एकदमै नरामइलो महसुस हुन्छ। अझ गोल खाएको त्यो बल आफैं टिप्न जानुपर्छ।'
गोलपोस्टको ७.३२ मिटर लम्बाइ र २.४४ मिटर उचाइमा देशको जिम्मेवारी बोकेर हिँड्नु सबभन्दा गाह्रो हुने उनले महसुस गरेकी छिन्।
'गोल खान्नँ भन्ने लक्ष्य बोकेर हिँडिरहेकी हुन्छु। देशलाई स्वर्ण दिलाउँछु भन्ने सोचिरहन्छु। तर आँखैअगाडि त्यही पोस्टबाट गोल छिरेर देश हार्दा नरमाइलो लाग्छ,' एन्जिलाले भनिन्।
सार्क क्षेत्रमा नेपाली महिला टिम राम्रो भए पनि अहिलेसम्म स्वर्ण पदक जित्न सकेको छैन। नेपाल सधैं फाइनल पुग्छ तर भारतलाई हराउन सकिरहेको छैन।
एन्जिलाको अब एउटै लक्ष्य छ, भारतलाई हराएर स्वर्ण जित्ने। त्यो पनि कुनै गोल नखाइ।
'सन् २०१४ मा नेपालको यु-१४ टिमबाट खेल्ने मौका पाएकी थिएँ। श्रीलंकामा भएको प्रतिस्पर्धामा हामीले भारतलाई हराएर उपाधि जितेका थियौं। त्यतिबेला कुनै गोल खाएकी थिइनँ,' उनले आफ्नो लक्ष्य सुनाइन्, 'त्यही इतिहास दोहोर्याएर नेपाललाई स्वर्ण जिताउने मन छ।'