सन् २०१० देखि भएका पाँच संस्करणका साफ महिला च्याम्पियनसिपका सबै उपाधि भारतले जितेको छ।
भारतले साफको उपाधि जित्दा चार पटक नेपाललाई हराएको थियो। सन् २०१६ मा नेपाल सेमिफाइनलमा पराजित भएपछि फाइनलमा बंगलादेश र भारत भिडेका थिए। जसमा पनि भारत विजयी भयो।
साफमा नेपालको उपाधि यात्रामा सधैं बाधक बनेको भारत दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा पनि सधै तगारो बनेर उभिएको छ।
सन् २०१०, २०१६ र २०१९ को सागको तीनै संस्करणमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। तीनै पटक भारतले स्वर्ण जित्दा नेपालले रजत पदकमै चित्त बुझाउनु पर्यो।
सन् २०१० यता सात पटक नेपालले भारतसँग फाइनल खेलेर उपाधि जित्ने प्रयत्न गरे पनि सफल हुन सकेको छैन।
सन् २०२२ को साफ च्याम्पियनसिपमा पनि नेपालले आफ्नो मुख्य प्रतिस्पर्धी भारतलाई नै मानेको छ।
भोलिदेखि काठमाडौंको दशरथ रंगशालामा हुने छैटौं संस्करणको साफमा नेपालले समूह चरणमा भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाएको छ। समूह ‘ए’ मा नेपालसहित भुटान र श्रीलंका गरी तीन टिम मात्र रहदा अझ सजिलो भएको छ।
यस्तोमा भोलि भुटानसँग खेल्न लागेको नेपालले सहज रुपमा सेमिफाइनलमा स्थान बनाउने विश्लेषण छ।
तर नेपालका प्रशिक्षक कुमार थापा कुनै पनि टिमलाई कमजोर नठान्ने बताउँछन्।
‘हामी सबै टिमलाई सम्मान गर्छौं,’ थापाले समूह चरणमा नेपालको लक्ष्यबारे भने, ‘हामी समूह चरणमा दुवै खेलमा राम्रो गर्दै सेमिफाइनलमा पुग्न चाहन्छौं। अहिले समूह चरणमै केन्द्रित छौं।’
अर्को समूहमा बलियो टिम भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। बंगलादेशले पछिल्लो समय महिला फुटबलमा प्रगति गरिरहेको छ भने पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कदा विदेशमा खेलेका दुई खेलाडीसहित नेपाल आएको छ।
नेपालका प्रशिक्षक कुमार थापा समूह चरणपछिका लागि आफूले योजना बनाइसकेको बताए। उनले काठमाडौंमा उपाधि जित्ने लक्ष्यका साथ नेपाली टिम अघि बढिरहेको बताए।
‘हामीले राम्रो तयारी गरेका छौं। हामी उत्कृष्ट फुटबल खेल्नेछौं,’ उनले भने।
भारतविरुद्धको खेलको विषयमा सोधिएको प्रश्नमा उनले मैदानमा उत्रिएपछि कसले जित्छ भनेर पहिलो नै भन्न नसकिने बताए। उनले यसअघि गरेका गल्ति कम गर्दै उत्कृष्ट फुटबल खेल्न कोशिस गर्ने पनि बताए।
‘यसअघि गरेका गल्ति गर्दैनौ। ती गल्ति नगर्नु नै हाम्रो च्याम्पियन हुने आधार हो,’ उनले भने।
यस्तै उनले नेपाल उपाधिका लागि तिर्खाएको पनि बताए।
‘हाम्रा केही खेलाडी करिअरको अन्तिम अवस्थामा छन्। हाम्रो फ्यानका लागि काठमाडौंमा उत्साह जगाउनु छ। राम्रो नतिजा दिन्छौं। राम्रो फुटबल खेल्छौं,’ थापाले भने, ‘हामी यसमा तिर्खाएका छौं। हामी प्यास मेट्न चाहन्छौं। नेपालमा ल्याएको साफ महिला च्याम्पियनसिपको ट्रफी अन्यत्र लान दिँदैनौ। हामी यसमा नै केन्द्रित भएर अघि बढेका छौं।’
यहि प्रतियोगिताबाट नेपालको कप्तानको जिम्मेवारी पाएकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले पनि च्याम्पियन बन्ने लक्ष्य रहेको बताइन्।
‘हामी सबै खेलाडी एउटै लक्ष्य लिएर अघि बढेका छौं। त्यसका लागि टिममा एकता छ,’ उनले भनिन्।
नेपाली टिम
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ
समूह ए
नेपाल, भुटान, श्रीलंका
समूह बी
भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स
समूह ए खेल तालिका
नेपालविरुद्ध भुटान - २१ भदौ - १७:३० बजे
श्रीलंकाविरुद्ध भुटान - २४ भदौ - १७:३० बजे
नेपालविरुद्ध श्रीलंका – २७ भदौ - १७:३० बजे
समूह बी खेल तालिका
भारतविरुद्ध पाकिस्तान – भदौ २२- १३:०० बजे
बंगलादेशविरुद्ध माल्दिभ्स – भदौ २२- १७:३० बजे
पाकिस्तानविरुद्ध बंगलादेश – भदौ २५- १३:०० बजे
माल्दिभ्सविरुद्ध भारत – भदौ २५- १७:३० बजे
माल्दिभ्सविरुद्ध पाकिस्तान– भदौ २८- १३:०० बजे
भारतविरुद्ध बंगलादेश – भदौ २८ – १७:३० बजे