भदौ २५ गतेदेखि चितवनमा ‘इसुजु चितवन गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल’ हुने भएको छ।
नारायणगढको क्याम्पाचौरमा हुने गोल्डकप असोज ३ गतेसम्म चल्नेछ।
प्रतियोगिताको विषयमा जानकारी दिन आयोजक भरतपुर फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन गरेको थियो।
संयोजक ध्रुब भुसालले खेलका लागि क्याम्पाचौर व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। खेल हेर्नका लागि चार हजार दर्शक अट्ने अस्थायी प्याराफिट निर्माण भइरहेको उनले बताए।
संयोजक भुषालका अनुसार चितवन गोल्डकपमा स्वदेशी र विदेशी गरी १० टोली सहभागी हुनेछन्।
त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), मनाङ एफसी, भरतपुर फुटबल क्लब, फर्साटिकर एफसी, बागमती नगरपालिका, मकवानपुर ११, नव जन जागृति युवा क्लब सिमरा, क्यामरुनको अफ्रिकन युनाइटेड र भारतको मोतिहारी एफसी सहभागी हुनेछन्। सहभागी टिमलाई दुई समूहमा विभाजन गरिएको छ।
गोल्डकपको उद्घाटन खेलमा आयोजक भरतपुर फुटबल क्लब र मोतिहारी एफसी भिड्नेछन्। विजेताले उपाधिसहित सात लाख रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले तीन लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कारको व्यवस्था गरिएको भुषालले बताए। यो पुरस्कार चितवनमा सञ्चालन भएका फुटबल प्रतियोगिताहरूमा सर्वाधिक धनराशिको हो।
प्रतियोगिता सम्पन्न गर्न ७० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। दर्शकका लागि क्वार्टरफाइनलसम्म एक सय र सेमिफाइनल र फाइनलका लागि दुई सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ।
गोल्डकपलाई मोफसलकै प्रतिष्ठित प्रतियोगिताको रूपमा स्थापित गर्ने लक्ष्य रहेको संयोजक भुषालले बताए।
पत्रकार सम्मेलनमा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्कीले जिल्लामा ठूलो लगानीमा स्तरीय प्रतियोगिता आयोजना हुनु गौरवको बिषय भएको बताए।
उनले खेलकुदमा तल्लो तहदेखि नै लगानी बढाउन सके क्षमतावान खेलाडी उत्पादन गर्न सकिने बताए।
फुटबल संघ अहिले जिल्लाका सातै स्थानीय तहमा ट्रेनिङ सेन्टर स्थापनाको योजनामा रहेको अध्यक्ष कार्कीले बताए।
भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले खेलकुद क्षेत्रको विकासका लागि स्थानीय तहले सक्दो प्रयास गर्ने बताए।
पत्रकार सम्मेलनमा मुख्य प्रायोजक इसुजु नेपाल चितवनका प्रबन्ध निर्देशक ईश्वरकुमार श्रेष्ठ, चितवन जिल्ला फुटबल संघका महासचिव रामहरि ढकाल लगायतको उपस्थिति थियो।