छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप आजबाट काठमाडौंको दशरथ रंगशलामा हुँदैछ। आज हुने उद्घाटन खेलमा आयोजक नेपालले भुटानसँग खेल्दैछ।
नेपाल र भुटानबीच साँझ ५:३० बजे खेल सुरू हुनेछ।
नेपाल र भुटानले सन् २०१४ यता तीन खेल खेलेका छन्। नेपालले तीनै खेलमा भुटानलाई हराएको छ। नेपालले भुटानविरूद्ध तीन खेलमा १९ गोल गर्दा अहिलेसम्म गोल खाएको छैन।
भुटानी टिम विगत दुई सातादेखि नेपालमा आएर अभ्यास गरिरहेको छ। अभ्यासका दौरान उसले आर्मीसँग मैत्रीपूर्ण खेल खेलेको थियो। खेलमा भने भुटान पराजित भयो।
खेलअघि नेपालका प्रशिक्षक कुमार थापाले कुनै पनि टिमलाई कमजोर नआँक्ने बताएका छन्। साथै नेपालको लक्ष्य समूह चरणमा उत्कृष्ट खेल्ने उनको भनाइ छ।
नेपालका लागि समूह चरणपछि भने चुनौती छ। घरेलु मैदानमा साफको उपाधि जित्ने लक्ष्यमा रहेको नेपालले मुख्य प्रतिस्पर्धी भारतलाई लिएको छ।
सन् २०१० देखि भएका पाँच संस्करणका साफ महिला च्याम्पियनसिपका सबै उपाधि भारतले जितेको छ।
भारतले साफको उपाधि जित्दा चार पटक नेपाललाई हराएको थियो। सन् २०१६ मा नेपाल सेमिफाइनलमा पराजित भएपछि फाइनलमा बंगलादेश र भारत भिडेका थिए। जसमा पनि भारत विजयी भयो।
साफमा नेपालको उपाधि यात्रामा सधैं बाधक बनेको भारत दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलमा पनि सधै तगारो बनेर उभिएको छ।
सन् २०१०, २०१६ र २०१९ को सागको तीनै संस्करणमा नेपाल र भारतबीच स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। तीनै पटक भारतले स्वर्ण जित्दा नेपालले रजत पदकमै चित्त बुझाउनु पर्यो।
सन् २०१० यता सात पटक नेपालले भारतसँग फाइनल खेलेर उपाधि जित्ने प्रयत्न गरे पनि सफल हुन सकेको छैन।
नेपालले यसपटक समूह चरणमा भने तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी पाएको छ। समूह ‘ए’ मा नेपालसहित भुटान र श्रीलंका गरी तीन टिम मात्र रहदा अझ सजिलो भएको छ।
अर्को समूहमा बलियो टिम भारतसहित बंगलादेश, पाकिस्तान र माल्दिभ्स छन्। बंगलादेशले पछिल्लो समय महिला फुटबलमा प्रगति गरिरहेको छ भने पाकिस्तान ८ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्कदा विदेशमा खेलेका दुई खेलाडीसहित नेपाल आएको छ।
नेपाली टिम
गोलकिपर : एन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर : हिराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पुनम जर्घामगर, निशा थोकर, समीक्षा घिमिरे, विमला विक
मिडफिल्डर : विमला चौधरी, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, सरु लिम्बु, दीपा राई, दीपा शाही, इन्दिरा राई, अनिता बस्नेत, अनिता केसी
फरवार्ड : अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ
समूह ए
नेपाल, भुटान, श्रीलंका
समूह बी
भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स
समूह ए खेल तालिका
नेपालविरुद्ध भुटान - २१ भदौ - १७:३० बजे
श्रीलंकाविरुद्ध भुटान - २४ भदौ - १७:३० बजे
नेपालविरुद्ध श्रीलंका – २७ भदौ - १७:३० बजे
समूह बी खेल तालिका
भारतविरुद्ध पाकिस्तान – भदौ २२- १३:०० बजे
बंगलादेशविरुद्ध माल्दिभ्स – भदौ २२- १७:३० बजे
पाकिस्तानविरुद्ध बंगलादेश – भदौ २५- १३:०० बजे
माल्दिभ्सविरुद्ध भारत – भदौ २५- १७:३० बजे
माल्दिभ्सविरुद्ध पाकिस्तान– भदौ २८- १३:०० बजे
भारतविरुद्ध बंगलादेश – भदौ २८ – १७:३० बजे