सन् २०२१ को अगस्ट १० मा अर्जेन्टाइन फरवार्ड लिओनल मेसी स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका थिए।
मेसीले कहिल्यै बार्सिलोना नछाड्ने अनुमान गर्ने गरिथ्यो। तर क्याटालान क्लबको आर्थिक अवस्थाले उसले मेसीलाई राख्न सकेन। हुन त मेसीले त्यसअघि पनि बार्सिलोना छाड्न चाहेका थिए।
मेसीले बार्सिलोना छाडेसँगै पिएसजीले विश्वका उत्कृष्ट फरवार्डहरू नेइमार, केलियन एमबाप्पे र मेसीसहितको उत्कृष्ट टिम बनाउन सफल भयो।
गत सिजनको सुरुवातमा तीन जनाबीच त्यति तालमेल मिल्न सकेन।
गत सिजनको च्याम्पियन्स लिगको अन्तिम १६ मा पिएसजी स्पेनिस क्लब रियल म्याड्रिडसँग पराजित हुँदै बाहिरियो।
पिएसजीले १८० मिनेटमा मात्र दुई गोल गर्यो, दुबै एमबाप्पेले एकल प्रयासमा गरेका थिए। त्यसमा मेसी र नेइमारको कुनै हात थिएन।
पूर्वप्रशिक्षक मौरिसियो पोचेटिनोले तीन जनाको उपयुक्त प्रयोग गर्न सकेनन्। जसका कारण पिएसजी च्याम्पियन्स लिगमा सफल हुन सकेन।
यो सिजन पिएसजीले आज राति इटालियन क्लब युभेन्ट्ससँग च्याम्पियन्स लिगको पहिलो खेल खेल्दैछ।
पोचेटिनोको प्रस्थानपछि नियुक्त भएका प्रशिक्षक गाल्टियरले पिएसजीलाई मेसी, नेइमार र एमबाप्पेको सहि संयोजन गर्ने विश्वास गरिएको छ।
यो सिजन तीन जनाको तालमेल उत्कृष्ट देखिएको छ। सिजनमा उनीहरूबीच २९ पटक गोल र एसिस्टका लागि सहकार्य भएको छ। तीन जनाले कुल १७ गोल गरेका छन् भने १२ एसिस्ट गरिसकेका छन्।
त्यसो त प्रशिक्षकले अहिले ३-४-३ को फर्मेसनलाई अघि बढाउदै तीन जनाको उपयोग गरिरहेका छन्।
मेसी र नेइमारबीच मात्र यो सिजन ६ खेलमा २२ पटक गोल र एसिस्टका लागि सहकार्य भइसकेको छ। गत सिजनभर ३६ पटक मात्र यस्तो भएको थियो।
सर्जियो रामोस र मार्क्विन्होसले डिफेन्समा राम्रो गरिरहेका छन्। मिडफिल्डमा बल लैजान दुई डिफेन्डरसहित किम्पेम्बेको क्षमताको साथ पिएसजीले पाएको छ। तीन डिफेन्डरका कारण पिएसजीलाई फरवार्डसम्म सहयोग भएको छ।
नुनो मेन्डेस र अच्राफ हाकिमीले फाइनल थर्डमा बल लैजान उत्कृष्ट खेलिरहेका छन्।
अग्रपंक्तिमा खुलेर खेल्नका लागि पिएसजीले मिडफिल्ड र डिफेन्डसमा उत्कृष्ट खेलाडीको साथ पाएको छ। जसका कारण मेसी, नेइमार र एमबाप्पेले आफ्नो क्षमता देखाइरहेका छन्।
सिजनको लिगको ६ खेल सकिदा नेइमार र एमबाप्पेले ७-७ गोल गरेका छन् भने मेसीले ३ गोल गरेका छन्। यस्तै लिगमा मेसी र नेइमार दुबैले ६-६ एसिस्ट गरेका छन्।
यो तथ्यले पिएसजीको यो सिजनको फरवार्ड लाइन एकदमै प्रभावकारी देखिएको छ। विपक्षीका लागि अब पिएसजीको फरवार्डलाई रोक्न चुनौतीपूर्ण देखिएको छ।