इंग्लिस क्लब म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा विजयी सुरूआत गरेको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको पहिलो खेलमा सेभियालाई ४-० गोल अन्तरले हराउँदै सिटीले सानादार सुरूआत गरेको हो ।
सिटीलाई जिताउन एर्लिङ हालान्डले दुई गोल गरे। फिल फोडेन र रुबेन डियासले एक एक गोल थपे।
खेलको २० औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए।
पहिलो हाफ १-० ले अघि रहेको सिटीका लागि खेलको ५८ औं मिनेटमा फोडेनले गोल गर्दै अग्रता दोब्बर पारे।
खेलको ६७ औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता ३-० मा पुर्याए।
त्यसपछि खेलको इन्जुरी समयमा डियासले गोल गर्दै सिटीलाई ४-० को जित दिलाए।
यो जितसँगै समूह जी मा रहेको सिटीले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा छ।
यसै समूहको अर्को खेलमा बोरूसिया डर्टमण्डले कोपेनहेगनलाई ३-० गोल अन्तरमा हराएको छ।