रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरेपछि क्याटलान क्लब बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको नयाँ सिजनमा सानदार सुरूआत गरेको छ ।
समूह चरणको पहिलो खेलमा बार्सिलोनाले भिक्टोरिया प्लेजनलाई ५-१ को फराकिलो अन्तरले हरायो।
घरेलु मैदान क्याम्प नोउमा लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा फ्रान्क केसी र फेरान टोरेसले समान १-१ गोल गरे। प्लेजनका जान सिकोराले एक गोल फर्काएका थिए।
खेलको १३ औं मिनेटमा बार्सिलोनाले केसीको गोलमा सुरूआती अग्रता लिएको थियो। ३४ औं मिनेटमा बार्सिलोनाले अग्रता दोब्बर पार्यो। लेवान्डोस्कीले गोल गर्दै खेलमा २-० ले टिमलाई अघि बढाए।
त्यसपछि ४४ औं मिनेटमा स्याकोराले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए। तर इन्ज्युरी समयको तेस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै पहिलो हाफमा २ गोलको अग्रता कायम गरे।
दोस्रो हाफको ६७ औं मिनेटमा लेवान्डोस्कीले ह्याट्रिक पुरा गर्दै खेलमा ४-१ को अग्रता बनाए। ७१ औं मिनेटमा टोरेसले गोल गर्दै ५-१ को सानदार जित पक्का गरे।
यो जितसँगै बार्सिलोनाले समूह सी मा ३ अंक जोडेको छ। समूहको अर्को खेलमा बायर्नले इन्टरको मैदानमा २-० को जित दर्ता गर्यो।