राजधानीमा जारी छैठौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले पाकिस्तानलाई पराजित गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको पहिलो खेलमा बंगलादेशले पाकिस्तानलाई ६-० गोलको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो।
बंगलादेशको जितमा कप्तान सबिना खातुनले ह्याट्रिक पूरा गरिन् भने मोनिका चक्मा, मोसाम्मत शोप्ना र रितु पोर्नाले एक एक गोल थपे।
खेलको तेस्रो मिनेटमा मोनिकाले गोल गर्दै बंगलादेशलाई पहिलो अग्रता दिलाइन्।
त्यस्तै खेलको २८ औं मिनेटमा शोप्नाले गोल गर्दा बंगलादेश २–० ले अघि रह्यो।
त्यसपछि खेलको ३१ औं मिनेटमा सबिनाले गोल गर्दै टिमको अग्रता तेब्बर बनाइन्।
यसैगरी खेलको ३५ औं मिनेटमा सबिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बंगलादेश ४–० ले अघि रह्यो। खेलको ५९ औं मिनेटमा सबिनाले थप एक गोल गर्दै ह्याट्रिक पूरा गरिन्।
त्यसपछि खेलको ७७ औं मिनेटमा रितुले गोल गर्दै बंगलादेशलाई ६–० को जित दिलाइन्। बंगलादेशको यो लगातार दोस्रो जित हो।
यसअघि भएको पहिलो खेलमा बंगलादेशले माल्दिभ्सलाई ३–० ले हराएको थियो। पाकिस्तानको भने यो लगातार दोस्रो हार हो।
पहिलो खेलमा पाकिस्तानले भारतसँग ३–० गोलको हार व्यहोरेको थियो। यस जितसँगै समूह ‘ए’ मा रहेको बंगलादेशले ६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पाकिस्तान दुई खेलमा अंकविहीन रहँदै पुछारमा छ। प्रतियोगिताअन्तर्गत नै आज हुने दोस्रो खेलमा समूह बी मा नै रहेको भारतले माल्दिभ्ससँग खेल्दैछ।