काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिपमा पाकिस्तानले आफ्नो अन्तिम खेलमा जित निकालेको छ।
मंगलबार दशरथ रंगशालामा भएको खेलमा पाकिस्तानले माल्दिभ्समाथि ७-० को जित निकाल्यो। समूह ‘ए’ मा रहेका दुवै टिम यसअघि नै बाहिरिएका थिए। दुवैलाई भारत र बंगलादेशले हराएका थिए।
पाकिस्तानले सन् २०१४ पछि पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा जित निकालेको हो।
फिफाको निलम्बनका कारण पाकिस्तानले सन् २०१५ यता अन्तर्राष्ट्रिय खेल खेल्न पाएको थिएन। दुई महिनाअघि निलम्बन हटेसँगै पाकिस्तान महिला साफबाट अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको हो।
मंगलबार पाकिस्तानका लागि रमिन फरिदले ३९ र खाडिजा काज्मीले ४९ मिनेटमा गोल गरे।
नदिया खानले ५४, ७८ र ८४ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन्। उनले ९० मिनेटमा टिमका लागि छैटौं र व्यक्तिगत चौथो गोल गरिन्।
पाकिस्तानका लागि सातौं गोल अनमूल हिराले दोस्रो हाफको इन्जुरी टाइममा गरिन्।
समूहको अन्तिम खेलमा अहिले साँझ भारत र बंगलादेश भिड्दैछन्। दुवै टिम यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।
अर्को समूहबाट नेपाल विजेता र भुटान उपविजेता बनेर अन्तिम चारमा पुगेका थिए।
आज भारत-बंगलादेशबीचको खेलमा हार बेहोर्ने टिमसँग नेपालले शुक्रबार साँझ सेमिफाइनल खेल्नेछ। खेल बराबरी भएको अवस्थामा बंगलादेशसँग नेपालले प्रतिस्पर्धा गर्नेछ।