काठमाडौंमा जारी महिला साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा पाँच पटकको विजेता भारतलाई बंगलादेशले पराजित गरेको छ।
समूह ‘ए’ को खेलमा भारतमाथि ३-० गोलको जित निकालेसँगै बंगलादेश समूह विजेताको रुपमा अन्तिम चारमा पुगेको छ।
बंगलादेशको जितमा मोसाम्मत शोप्नाले दुई गोल गरिन्। उनले खेलको १२ र ५३ मिनेटमा गोल गरेकी थिइन्। यस्तै श्रीमोती के सरकारले २२ मिनेटमा अर्को गोल थपिन्।
समूहको अन्तिम खेलमा पराजित भएको भारत उपविजेता बन्यो।
अब पहिलो सेमिफाइनलमा समूह ‘ए’ को विजेता बंगलादेश र समूह ‘बी’ को उपविजेता भुटानबीच खेल हुनेछ। यस्तै अर्को सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता भारत र समूह ‘बी’ को विजेता नेपालबीच खेल हुनेछ।
दुवै सेमिफाइनलमा आगामी शुक्रबार हुनेछ। बंगलादेश र भुटान दिउँस एक बजे भिड्नेछन् भने नेपालले भारतको सामना साँझ ५:३० मा गर्नेछ।
यसअघि नेपालले समूह चरणमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० गोलले हराएको थियो।