साफ यू-१७ च्याम्पियनसिपमा नेपाल फेरि पनि उपविजेतामै सीमित बनेको छ।
बुधबार श्रीलंकामा भएको फाइनल भिडन्तमा नेपाललाई भारतले ४-० गोलले पराजित गर्दै उपाधि जित्यो।
भारतका लागि बबी सिंहले १८ मिनेट, कोरोउ सिंहले ३० मिनेट, गुइटेले ६३ र अमनले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।
यसअघि समूह चरणमा पनि नेपाल र भारत भिडेका थिए। सो खेलमा भने नेपालले भारतलाई ३-१ गोलले पराजित गरेको थियो।
साफको यो प्रतिस्पर्धामा नेपाल फाइनलमा पराजित भएको चौथो पटक हो।
सन् २०१३ को फाइनलमा नेपाललाई भारतले १-० गोलले हराएको थियो। नेपाल २०१७ र २०१९ को संस्करणमा पनि फाइनलमा पुगेको थियो। तर दुवैमा भारतसँग पराजित हुँदा उपाधि विमुख भयो।
सन् २०१९ को फाइनलमा त नेपालले भारतसँग ७ गोल खाएको थियो।