काठमाडौंको दशरथ रंगशालामा भइरहेको छैटौं संस्करणको महिला साफ च्याम्पियनसिपमा आज सेमिफाइनलका खेल हुँदैछन्।
दिउँस एक बजे हुने पहिलो सेमिफाइनलमा बंगलादेश र भुटान भिड्दैछन्। साँझ ५:३० मा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघिका पाँच वटा संस्करणमा लगातार उपाधि जितेको भारत यसपटक पनि बलियो दाबेदार हो। यद्यपी समूह चरणमा भारतलाई ३-० ले हराएर बंगलादेशले पनि दाबेदारी प्रस्तुत गरिसकेको छ।
नेपाल पनि घरेलु मैदानको फाइदा उठाउँदै पहिलो पटक उपाधि जित्ने लक्ष्यमा छ। सेमिफाइनलमा भारतसँग भिड्नु नेपालका लागि चुनौतीसँगै अवसर पनि छ।
भारतलाई सेमिफाइनलमा पराजित गर्न सके नेपालले साफमा भारतमाथि पहिलो जित निकाल्ने छ भने उपाधिका लागि बलियो दाबेदारी पेश गर्नेछ।
भारतले २०१० देखि २०१९ सम्म भएका पाँच संस्करणमा लगातार उपाधि जितेको थियो। सन् २०१६ बाहेक बाँकी चार संस्करणको फाइनलमा भारतले नेपाललाई हराएको थियो।
चार पटक फाइनल पुगेर पनि उपाधि जित्न नसकेको नेपालका लागि यसपटक पनि भारत नै मुख्य र बलियो प्रतिद्वन्द्वी हो। जुन चुनौती नेपालले यसपटक सेमिफाइनलमा पार गर्नु पर्नेछ।
अनुभवी खेलाडी र राम्रो महिला फुटबल प्रणालीका हिसाबले नेपालभन्दा भारत निकै बलियो टिम हो। फिफा वरीयतामा पनि नेपालभन्दा भारत ४४ स्थान माथि छ।
भारत फिफा वरीयतामा ५८औं स्थानमा छ भने नेपाल १०२औं स्थानमा छ।
नेपालमा साफ खेल्न आउनुअघि भारतले सन् २०२२ मा ६ वटा अन्तर्राष्ट्रिय खेल खेलिसकेको थियो। तर नेपालले साफअघि सन् २०२२ मा कुनै अन्तर्राष्ट्रिय खेल खेलेको थिएन।
भारतको महिला फुटबल प्रणाली पनि नेपालको तुलनामा राम्रो छ। प्रदेश स्तरको लिगपछि भारतमा राष्ट्रिय महिला लिग हुने गरेको छ। जसमा नेपालका सावित्रा भण्डारी र अनिता बस्नेतले पनि खेलिसकेका छन्।
राम्रो महिला लिग प्रणाली भएकै कारण भारतको लिग च्याम्पियन गोकुलम केरला एएफसी च्याम्पियन्स लिगको छनोटमा पुगेको थियो। तर तत्कालिन फिफाको निलम्बनका कारण केरला उज्वेकिस्तान पुगेर पनि नखेली फर्कन परेको थियो।
भारतमा विदेशी क्लबमा आबद्ध भएका खेलाडी समेत छन्। गोलकिपर अदिती चौहानसँग इंग्लिस प्रिमियर लिग खेलेको अनुभव छ। उनी सन् २०१५ देखि २०१८ सम्ममा वेस्ट ह्याम युनाइटेडमा आबद्ध थिइन्। त्यतिबेला उनले सात खेल खेल्ने अवसर पाएकी थिइन्।
नेपालककी फरवार्ड सावित्रा भण्डारी साम्बा फिट हुनेमा शंका छ। एक वर्ष चोटका कारण मैदान बाहिर रहेकी सावित्रा गत माघमा मैदान फर्किएकी थिइन्। तर अहिले उनलाई डेंगीको संक्रमण भएको छ।
महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मेवारी पाएका कुमार थापाको लक्ष्य साफ च्याम्पियनसिप जित्ने रहेको छ। केही वर्षअघि युरोपमा व्यवस्थापनको कोर्ष गरेका थापाले गत सिजनको ए डिभिजन लिगमा एपिएफलाई प्रशिक्षण दिएका थिए।
खेलाडी जस्तै प्रशिक्षणको कोर्षमा पनि अब्बल ठहरिएका कुमारका लागि नेपाललाई साफ जिताउन सजिलो भने छैन। नेपालको कमजोर धरातलको महिला फुटबललाई बिर्सिएर नेपाली टिमलाई हौसला दिनु पर्ने अवस्थामा छन् कुमार। तर घरेलु मैदान र कुशल रणनीति मैदानमा सफल भए नेपालले भारतलाई हराउनै नसक्ने पनि होइन।
समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग पराजित भएको भारत को२०१६ को महिला साफको समूह चरणमा बंगलादेशसँग बराबरी रोकिनु मात्र खराब नतिजा थियो। त्योबाहेक भारत २४ खेलमा विजयी भएको थियो। साफका २५ खेलमा १५० गोल गरेको भारतले ६ गोल मात्र खाएको थियो।
लगानी र अनुभवको हिसाबमा भारत साफको सबैभन्दा बलियो महिला टिम हो।
तर यसपटक बंगलादेशले उत्कृष्ट खेल देखाउँदै भारतलाई समूह चरणमै सचेत गरासकेको थियो। बंगलादेशले पहिलो खेलमा माल्दिभ्सलाई ३-० र दोस्रो खेलमा पाकिस्तानलाई ६-० गोलले पराजित गरेको थियो।
बंगलादेशले भारतमाथि जित निकाल्नुको एउटै कारण छ, महिला फुटबलमा गरेको लगानी। उसले महिला फुटबल विकासका लागि ग्रासरुट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
एसियाली फुटबल महासंघ (एएफसी) का अनुसार बंगलादेश फुटबल फेडेरेसनले विभिन्न क्षेत्र र जिल्लाका लागि सन् २०२० मा एउटा रोडम्याप कार्यान्वयनमा ल्याएको थियो।
जसमा ६ सय पुरुष र १८० महिला सहभागी गराइएको थियो। यो अभियान विशेष गरी ग्रामिण क्षेत्रमा केन्द्रीत छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यसयता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो।
सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइनिज ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यसयता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।
सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
सन् २०२२ को साफ च्याम्पियनसिपका लागि नेपाल आउनुअघि बंगलादेशले मलेसियासँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा बंगलादेशले मलेसियाको पोस्टमा ६ गोल गरेको थियो। दोस्रो खेल भने गोलरहित बराबरीमा सकियो।
सन् २०२२ मा अहिलेसम्म खेलेका पाँच खेलमा अपराजित रहेको बंगलादेशले चार खेलमा जित निकालिसकेको छ।