पाँच पटकको च्याम्पियन भारतलाई शुक्रबार १-० गोलले पराजित गरेपछि नेपालले महिला साफ च्याम्पियनसको उपाधिका लागि बंगलादेशसँग भिड्दैछ।
सोमबार साँझ दशरथ रंगशालामा हुने फाइनलपछि महिला साफले नयाँ च्याम्पियन पाउनेछ।
किनभने यसअघिका पाँचै संस्करणको उपाधि भारतले जितेको थियो। नेपालले साफमा भारतसँग खेलेका सबै खेलमा हार बेहोरेको थियो।
साफमा पहिलो पटक जित निकालेपछि नेपालका प्रशिक्षक कुमार थापाले भारतविरुद्ध १२ वर्षपछि जित निकाल्न सकेकोमा खुसी व्यक्त गरे।
सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा नेपालले भारतविरुद्ध खेलेका चार फाइनल र एक सेमिफाइनल गुमाएको थियो।
‘भारतविरुद्ध जितपछि धेरै खुसी छौं। हामीले यसका लागि १२ वर्ष प्रतिक्षा गर्न पर्यो’ थापाले भने, ‘हामीले पाएको अवसर सदुपयोग गर्यौ। गल्ति पनि कम गरेकाले जित निकाल्न सफल भयौं।’
भारतका प्रशिक्षक सुरेन क्षेत्रीले नेपालविरुद्धको हार स्वीकार हुने बताए। ‘नेपाल खेल जित्न लायक थियो। हामी हार स्वीकार गर्छौं,’ क्षेत्रीले भने, ‘नेपाल पाएको अवसर सदुपयोग गर्यो। हामीले सकेनौं।’
पाँच पटकको च्याम्पियन भारतलाई हराउँदै नेपाल फाइनलमा
पाँच पटकको च्याम्पियन भारतलाई १-० गोलले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो।
नेपाल यससँगै महिला साफमा पाँचौपटक फाइनलमा पुग्यो। यसअघि चार पटकको फाइनलमा भने नेपाल पराजित हुँदा उपाधि विमुख भएको थियो।
नेपालका लागि पहिलो हाफको अन्तिम मिनेटमा रश्मिकुमारी घिसिङले गोल गरिन्। प्रिति राईले मिहिनेत गरेर दिएको क्रसमा रश्मिले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।
दशरथ रंगशालामा उपस्थित सात हजार दर्शकसामू भारतलाई पराजित गरेको नेपालले अब उपाधिका सोमबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। यसअघि शुक्रबार नै भएको पहिलो सेमिफाइनलमा बंगलादेशले भुटानमाथि ८-० गोलको जित निकालेको थियो।
नेपालसँग पराजित भएसँगै भारत पहिलोपटक साफ महिला च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। भारत बाहिरिएसँगै महिला साफ च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने भएको छ। यसअघिका पाँच संस्करणकै उपाधि भारतले जितेको थियो।
भारतले पाँचपटक उपाधि जित्दा फाइलनमा नेपाललाई चारपटक र बंगलादेशलाई एकपटक हराएको थियो। नेपाल यसअघि २०१६ बाहेक सबै साफको फाइनलमा पुगेको थियो। सन् २०१६ को साफमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित भएको थियो।
नेपालले भारतलाई साफमा हराएको यो पहिलोपटक हो। समग्रमा भने नेपालले भारतलाई दोस्रोपटक पराजित गरेको हो। यसअघि नेपालले हिरो गोल्डकपमा भारतमाथि जित निकालेको थियो।