म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आफ्नो अपराजित यात्रा कायमै राखेको छ।
शनिबार भएको खेलमा सिटीले १० खेलाडीमा सीमित वुल्भ्समाथि ३-० गोलको सहज जित हात पार्यो।
खेल सुरु भएको ५५ सेकेन्डमै सिटीले खेलमा अग्रता लिएको थियो। सिटीका लागि ग्रेलिसले उक्त गोल गरेका थिए।
१६औं मिनेटमा इर्लिङ हाल्यान्डले सिटीका लागि दोस्रो गोल गरे। हाल्यान्डले लगातार सातौं खेलमा गोल गरेका हुन्। जारी लिगमा उनले ११ गोल गरिसकेका छन्।
खेलको ३३ मिनेटमा वुल्भ्सका कोलिन्सले रातो कार्ड पाए। उनले सिटीका ग्रेलिसलाई खराब ट्याकल गरेका थिए।
सिटीका लागि फिल फोडेनले ६९ मिनेटमा तेस्रो गोल गरे।
जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ७ खेलबाट १७ अंक जोडेको छ। दोस्रो स्थानको आर्सनलको ६ खेलबाट १५ अंक छ।