इंग्लिस प्रिमियर लिगमा टोटेनहम हट्सपरले लेस्टर सिटीमाथि ६-२ को फराकिलो जित निकालेको छ।
घरेलु मैदानमा टोटेनहमलाई सानदार जित दिलाउन ह्युङ मिन सनले ह्याट्रिक गरे। ह्यारी केन, एरिक डाएर र रोड्रीगो बेन्टान्कुरले थप १-१ गोल गरेका थिए।
लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडीसनले १-१ गोल गरेका थिए।
लेस्टरले खेलको छैटौं मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो। तर उक्त अग्रता २ मिनेट पनि टिक्न सकेन।
खेलको आठौं मिनेटमा केनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए। उनले डेजान कुलुस्भ्सकीको क्रसमा गोल गरेका थिए।
खेलको २१ औं मिनेटमा डाएरले गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए। उनले इभान पेरिसिचको कर्नरमा हेडरमार्फत गोल गरे। ४१ औं मिनेटमा म्याडीसनले गोल गर्दै खेललाई पहिलो हाफमा बराबरीमा ल्याए।
पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको लेस्टरले दोस्रो हाफमा लय कायम राख्न सकेन। दोस्रो हाफको ४७ औं मिनेटमा बेन्टान्कुरले गोल गर्दै टोटेनहमलाई पुनः अग्रता दिलाए। त्यसपछि टोटेनहमका लागि बेन्चबाट मैदान प्रवेश गरेका ह्युङ मिन सनले उत्कृष्ट प्रदर्शन गरे।
५९ औं मिनेटमा मैदान छिरेका उनले ७३ औं मिनेटमा पहिलो गोल गरे। ८४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका दक्षिण कोरियाली फरवार्ड सनले ८६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
उनले १३ मिनेट भित्रै ह्याट्रिक पूरा गरेका थिए।
यो जितसँगै ७ खेलबाट १७ अंक जोडेको टोटेनहमले शीर्ष स्थानमा रहेको म्यान्चेष्टर सिटीसँग अंक बराबरी गरेको छ।
समान खेलबाट समान अंक रहेको सिटी गोल अन्तरमा अगाडि छ। एक खेल कम खेलेको आर्सनल १५ अंकसहित तेस्रो स्थानमा झरेको छ।
पराजित लेस्टर भने ७ खेलमा १ बराबरीसँगै १ अंकसाथ पुछारमा छ ।
त्यसअघि दिनको पहिलो खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३-० गोल अन्तरमा हराउँदै शीर्षस्थानमा उक्लिएको थियो।
मोलिन्यु स्टेडियम वल्भरह्याम्टनमा शनिबार भएको खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सविरुद्ध सिटीको जितमा ज्याक ग्रेलिस, एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले गोल गरे ।