साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश आज साँझ प्रतिस्पर्धा गर्दैछन्। साँझ पाँच बजे दशरथ रंगशालामा हुने फाइनल भिडन्तपछि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउँदैछ।
नेपाल चारपटक फाइनलमा पुगेर पनि उपाधिबाट बन्चित भएको थियो। बंगलादेशले पनि एकपटक फाइनलमा पुगेर उपाधि जित्न सकेको थिएन।
पाँचपटकको च्याम्पियन भारतलाई जारी प्रतियोगितामा पराजित गरेका दुवै टिमबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा गरिएको छ। समूह चरणमा बंगलादेशले भारतलाई ३-० गोल र सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएका थिए।
उपाधिको खडेरी तोड्न १२ वर्षपछि आएको अवसर
सन् २०१० यता नेपाली महिला राष्ट्रिय टिमले सार्कस्तरीय प्रतियोगितामा आठ पटक फाइनलमा स्थान बनाएको छ। काठमाडौंको दशरथ रंगशालामा जारी महिला साफ च्याम्पियनसिपमा नेपाली महिला टिमले १२ वर्षमा आठौं पटक फाइनल खेल्दैछ।
खेलअघि नेपालका प्रशिक्षक कुमार थापा र कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्नेका लागि खेल्ने बताए।
सोमबार साँझ साफले नयाँ च्याम्पियन पाउँदा नेपाल त्यो इतिहासमा आफ्नो नाम लेखाउन चाहन्छ। हुन त नेपालले सेमिफाइनलमा पाँचपटकको च्याम्पियन भारतलाई पराजित गर्दै उपाधिमा बलियो दाबेदारी प्रस्तुत गरिसकेको छ।
साफमा पहिलोपटक भारतलाई पराजित गर्ने इतिहास बनाएको नेपालले दशरथ रंगशालाको मैदान हिलो भए पनि आफ्नो खेल भने उत्कृष्ट देखाएको थियो।
सम्हालिएर खेलेको नेपालले भारतको दबाबलाई निरन्तर नियन्त्रणमा लिन सफल भएको थियो।
प्रशिक्षक कुमार थापाको भनाइमा नेपालले भारतको अनुभवलाई पराजित गरेको छ, अब फाइनलमा युवा जोश र प्राविधिक रुपमा बलियो बंगलादेशलाई पराजित गर्ने योजना सफल हुनुपर्छ।
घरेलु मैदानमा इतिहास रच्नका लागि नेपालले १२ वर्षसम्म कुरेको पनि थापाको भनाइ छ। सेमिफाइनलमा भारतलाई हराएपछि थापाले भनेका थिए, ‘यो दिनका लागि हामीले १२ वर्ष प्रतिक्षा गर्न पर्यो।’
यसअघि नेपालले भारतविरुद्ध १२ वर्षमा खेलेका ७ फाइनल गुमाएको थियो। ७ पटक उपाधि नजिक पुगेर पनि उपविजेतामै चित्त बुझाउनु पर्यो।
नेपाल सन् २०१०, २०१२, २०१४ र २०१९ को साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको थियो। यस्तै दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबलको प्रतिस्पर्धामा पनि नेपालले २०१०, २०१६ र २०१९ मा फाइनलमा स्थान बनाएको थियो।
यी सात फाइनलमा नेपालले भारतसँग प्रतिस्पर्धा गरेको थियो। तर सातै फाइनल पराजित हुन बाध्य भयो। सन् २०१९ को साफ र सागको फाइनल त नेपालले घरेलु मैदानमै गुमाएको थियो।
१२ वर्षमा आठौं पटक फाइनलमा भिड्न लागेको नेपालका लागि सहज भने पक्का छैन। घरेलु मैदानको फाइदा रहेको नेपालले बंगलादेशको युवा र अनुभवी खेलाडीलाई सुक्ष्म तरिकाले नियाल्ने प्रशिक्षक थापाको भनाइ छ।
फाइनलमा नेपालकी स्टार फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ मैदान फर्कने विश्वास गरिएको छ। डेंगी सक्रमणका कारण साम्बाले श्रीलंकाविरूद्धको समूह चरणको अन्तिम खेल र भारतविरुद्धको सेमिफाइनल गुमाएकी थिइन्।
नेपाली टिमलाई खड्किएको अर्को पक्ष भने साफको तयारीअघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न नपाउनु हो। तर पनि प्रशिक्षक कुमार थापाले आफ्नो लागि ९ साताको तयारी पर्याप्त भएको भनेर प्रतिक्रिया दिइसकेका छन्।
बंगलादेशले भने नेपालमा साफ खेल्न आउनुअघि मलेसियासँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। जसमा एक खेल बराबरीमा सकिदा एक खेलमा बंगलादेश विजयी भएको थियो।
इतिहास हेर्ने हो भने नेपाली महिला टिमले बंगलादेशसँग कहिल्यै हारेको छैन। सन् २०१० मा पहिलो पटक नेपाली महिला टिमले बंगलादेशसँग खेलेको थियो। त्यसयता खेलिएका ६ मध्ये नेपालले ५ खेलमा जित र १ खेलमा बराबरी खेलेको छ।
गत वर्ष खेलिएका दुई मैत्रीपूर्ण खेल मध्ये नेपालले बंगलादेशलाई पहिलो खेलमा २-१ ले हराएको थियो। दोस्रो खेल भने गोलरहित बराबरीमा सकिएको थियो। सो खेल नेपालका लागि बंगलादेशविरुद्धको अहिलेसम्मकै खराब नतिजा हो।
अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको १२ वर्षमै बंगलादेशले सार्क क्षेत्रमा बलियो बन्दै गएको छ। महिला फुटबल विकासका लागि लगानी गरिरहेको बंगलादेशले ग्रासरुट फुटबल अभियान सञ्चालन गरिरहेको छ।
बंगलादेशले महिला फुटबलमा सन् २००७ देखि मात्र राष्ट्रिय टिम बनाएर खेल्न थालेको थियो। तीन वर्षपछि मात्र बंगलादेशले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गर्यो। सन् २०१० को दक्षिण एसियली खेलकुदमा नेपालविरूद्ध खेल्दै बंगलादेशको महिला टिमले अन्तर्राष्ट्रिय फुटबलमा पाइला टेकेको थियो। डेब्यू खेलमा भने बंगलादेशलाई नेपालले १-० गोलले हराएको थियो।
त्यसयता बंगलादेशले महिला फुटबलमा लगातार लगानी गरिरह्यो। सन् २०१६ मा त्यसको परिणाम देखिएको थियो। सन् २०१६ मा एएफसी यू-१६ च्याम्पियनसिप छनोट पार गर्दै बंगलादेशको यू-१६ महिला टिमले इतिहास रचेको थियो। छनोटमा उसले इरान, चाइनिज ताइपेई, यूएई, सिंगापुर र किर्गिस्तान रहेको समूहमा शीर्ष भएको थियो।
सन् २०१७ मा एएफसी यू-१६ च्याम्पियनसिपमा खेल्ने एक्लो दक्षिण एसियाली टिम बनेको बंगलादेशले समूह चरणमा जापान, अस्ट्रेलिया र उत्तर कोरियासँग प्रतिस्पर्धा गरेको थियो। तीनै खेलमा पराजित हुँदा १५ गोल खाएको बंगलादेशका खेलाडीका लागि अनुभव बटुल्ने ठूलो मौका बन्यो।
समूह चरणको अन्तिम खेलमा अस्ट्रेलियासँग ३ गोल खाएको बंगलादेश २ गोल गर्न सफल भएको थियो। कुनै समय २-१ ले अघि रहेको बंगलादेशले अन्तिम १२ मिनेटमा २ गोल खाएको थियो।
त्यसयता उमेर समूहका खेलाडीले राष्ट्रिय टिममा स्थान बनाउन थाले। अनि बंगलादेशको महिला राष्ट्रिय टिम बलियो बन्दै गयो।
सन् २०२१ मा बंगलादेश नेपालसँग मैत्रीपूर्ण खेलका लागि काठमाडौं आएको थियो। पहिलो खेलमा नेपाल २-१ ले विजयी भएको थियो भने दोस्रो खेल गोलरहित बराबरीमा सकियो।
सन् २०२२ को साफ च्याम्पियनसिपका लागि नेपाल आउनुअघि बंगलादेशले मलेसियासँग दुई वटा मैत्रीपूर्ण खेल खेलेको थियो। पहिलो खेलमा बंगलादेशले मलेसियाको पोस्टमा ६ गोल गरेको थियो। दोस्रो खेल भने गोलरहित बराबरीमा सकियो।
सन् २०२२ मा अहिलेसम्म खेलेका छ खेलमा अपराजित रहेको बंगलादेशले पाँच खेलमा जित निकालिसकेको छ।
जारी साफको समूह चरणमा बंगलादेशले उत्कृष्ट खेल देखाएको थियो।
पहिलो खेलमा माल्दिभ्सलाई ३-०, दोस्रो खेलमा पाकिस्तानलाई ६-० र अन्तिम खेलमा भारतलाई ३-० ले पराजित गरेको बंगलादेशले सेमिफाइनलमा भुटानलाई ८-० गोलले हरायो। जारी प्रतियोगितामा २० गोल गरिसकेको बंगलादेशले एक गोल पनि खाएको छैन।
बंगलादेशकी कप्तान सबिना खानुतले दुई ह्याट्रिकसहित ८ गोल गरिसकेकी छिन्। पाँच पटकको च्याम्पियन भारतमाथि ३-० को जित निकाल्नु बंगलादेशका लागि अहिलेसम्मकै उत्कृष्ट जित हो। जसका कारण बंगलादेशले फाइनलमा नेपाललाई कडा टक्कर दिने विश्वास गरिएको छ।
नेपालले पनि जारी प्रतियोगितामा अहिलेसम्म गोल खाएको छैन। नेपालले समूह चरणको पहिलो खेलमा भुटानलाई ४-० र श्रीलंकालाई ६-० गोलले हराएको थियो। भारतलाई सेमिफाइनलमा १-० ले हराएको नेपालले अहिलेसम्म ११ गोल गरिसकेको छ।
नेपालका लागि अनिता बस्नेत, रश्मिकुमारी घिसिङ, सावित्रा भण्डारी र अमिसा कार्कीले दुई दुई गोल गरिसकेका छन्।