साफ महिला च्याम्पियनसिपको फाइनल भिडन्तमा बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमा २-० गोलको अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलको १७ मिनेटमा बंगलादेशले अग्रता लियो। बंगलादेशका लागि सब्सिच्युट खेलाडी शाम्शुनहारले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेकी थिइन्।
मोनिका चक्काले उपलब्ध गराएको सटिक क्रसलाई उनले दोस्रो पोल च्याम्प्दै जाली चुमाइन्।
शाम्शुनहार खेलको ११ मिनेटमा जहान सोप्नाको स्थानमा मैदान प्रवेश गरेकी थिइन्। खेलको ३६ मिनेटमा नेपालले बराबरी गर्ने मौका गुमायो।
अनिता बस्नेतले बक्सबाहिरबाट हानेको उत्कृष्ट फ्रिकिकलाई बंगलादेशकी गोलकिपर रूप्ना चम्काले पञ्च गर्दै बाहिर पठाइन्।
४१ मिनेटमा बंगलादेशले अग्रता दोब्बर पार्यो। नेपाली डिफेन्डरहरूबीच समन्वय हुन नसकेको बललाई अघि बढाउँदै बंगलादेशकी मारिया मान्डाले नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बासँगको वान भर्सेस वानको अवस्थामा गोल गरिन्।
नेपाल र बंगलादेश पहिलोपटक महिला साफ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यमा छन्।
यसअघि नेपाल चारपटक र बंगलादेश एकपटक फाइनलमा पराजित भएका थिए। दुवै टिमलाई भारतले हराएर उपाधि जितेको थियो। पाँच पटकको च्याम्पियन भारत भने यसपटक सेमिफाइनलबाट बाहिरियो। भारतलाई नेपालले सेमिफाइनलमा १-० गोलले हराएको थियो।