एमयुएफसी विजयचोक युथ क्लब काठमाडौंले आगामी असोज ६ गतेबाट हुने सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट खेल्ने भएको छ।
सन् २०१२ मा गठन भएको एमयुएफसी बेलायती फुटबल क्लब म्यान्चेष्टर युनाइटेडका समर्थकको टोली हो।
सुरूआती दिनमा सातामा बिदाको दिन शनिबार भेला भएर एक आपसमा खेल्ने गर्थे। विस्तारै क्लबमा सदस्यको संख्या बढ्दै गएपछि क्लब गठन गरेर विभित्र प्रतियोगितामा सहभागिता जनाएको थियो।
नैकाप गोल्डकप, शुटर्स कप लगायत विभित्र प्रतियोगितामा अनुभव बटुलेको क्लबले गत वर्ष सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटको सुपर ८ मा पुग्न सफल भएको थियो।
समुदायमा हुने विकास निर्माण, जनचेतना मुलका कार्यक्रमहरु, स्वास्थ्य शिविर,कोभिड १९ बाट प्रभावित व्यक्तिहरुलाई खाना बनाएर खुवाउने, खाद्यात्र वितरण र निःशुल्क कोभिड आइसोलेसन सेन्टर चलाएर समेत स्थानीयलाई सहयोग गरेको थियो।
आगामी दिनमा सामाजिक सेवासँगै व्यवसायिक फुटबललाई पनि निरन्तरता दिन असोज ६ गतेबाट हुने ‘सी’ डिभिजन लिग छनोट खेल्न लागेको क्लबका मेनेजर सुरेश नेपालले जानकारी दिए।
नेपालका अनुसार एमयुएफसी विजयचोक युथ क्लबबीच सहकार्य गरेर दोस्रो पटक लिग फुटबल खेल्न लागेको हो।
यसैबीच अखिल नेपाल फुटबल संघ एन्फाले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनौट खेलका लागि सार्वजनिक गरेको तालिका अनुसार असोज ६ गतेबाट उपत्यकामा सुरु हुने छनोट प्रतियोगितामा देशभरका ६० क्लब सहभागी हुने जानकारी दिएको छ।
एन्फाले सहभागी ६० क्लबलाई २० समूहमा विभाजन गरेको छ। प्रत्येक समूहमा ३ क्लब रहेका छन्।
हरेक समूहको विजेता दोस्रो चरणमा प्रवेश गर्नेछन्। दोस्रो चरण तथा नकआउट चरणलाई ३ समूहमा विभाजन गरिएको छ। हरेक समूहका फाइनल विजेता ‘सी’ डिभिजन लिगमा छनोट हुनेछन्।
यी समुहका सबै खेल कात्तिक २४ गते समापन हुनेछ।