छैटौं संस्करणको साफ च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनलपछि नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन खेलाडीले अन्तर्राष्ट्रिय खेलबाट संन्यास घोषणा गरेका छन्। फाइनलमा बंगलादेशले नेपाललाई ३-१ गोलले हराएको थियो।
संन्यास घोषणा गर्ने खेलाडीमा डिफेन्डर पुनम जर्घामगर छिन् भने मिडफिल्डरद्वय दीपा राई र इन्दिरा राई छन्।
पुनमले सन् २०१४ मा पाकिस्तानमा भएको महिला साफ च्याम्पियनशिपकाट डेब्यु गरेकी थिइन्। उनले राष्ट्रिय टिमका लागि ३८ खेल खेलेकी छिन्।
त्यसैगरी दीपा राईले पनि सन् २०१४ मा पाकिस्तानमै भएको साफ च्याम्पियनशिपबाट डेब्यु गरेकी थिइन्। उनले राष्ट्रिय टिमबाट ३६ खेल खेलेकी छिन्।
त्यस्तै इन्दिरा राईले भने सन् २०१८ बाट राष्ट्रिय टिममा प्रवेश गरेकी थिइन्। उनले चीनमा आयोजना भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। उनले राष्ट्रिय टिमबाट जम्मा पाँच खेल खेलेकी हुन्।
उनीहरुलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले बिदाइ गरे।