सोमबार दशरथ रंगशालामा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्दा कप्तान सविना खातुनको प्रदर्शन उच्च रह्यो।
नेपालविरूद्धको फाइनलमा उनले दोस्रो गोलका लागि पास उपलब्ध गराएकी थिइन् भने उनले प्रतियोगिताभर दुई ह्याट्रिकसहित आठ गोल गरिन्।
पाँच पटकको विजेता भारतलाई समूह चरणमा ३-० गोल र घरेलु टिम नेपाललाई फाइनलमा ३-१ गोलले हराउँदै बंगलादेशले उपाधि जित्दा सविनाले कुशल नेतृत्वसँगै आफ्नो प्रदर्शन पनि तारिफयोग्य गरेकी थिइन्।
जसका कारण उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भइन्। उच्च गोलकर्ताको अवार्ड समेत जितेकी सविनाले आफ्नो अनुभवसँगै युवा खेलाडीको जोशलाई मैदानमा उतार्न सफल भइन्।
उनले माल्दिभ्सको फाम महिला फुटबल च्याम्पियनसिपमा माल्दिभ्स आर्मीबाट खेलेकी थिइन् थिइन्। उनी हाल बंगलादेशको बसुन्धरा किंग्स महिला टिमको कप्तान समेत हुन्।
उनले बंगलादेशका लागि कीर्तिमानी ३१ अन्तर्राष्ट्रिय गोल गरेकी छिन्। उनी बंगलादेशको पुरुष वा महिला टिमका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी समेत हुन्।
३१४ गोल गरी बंगलादेशको क्लब फुटबलमा सर्वकालीन शीर्ष गोलकर्ता (पुरुष वा महिला) पनि हुन्, सविना।
उनको जन्म २५ अक्टोबर १९९३ मा बंगलादेशको सतखिरामा भयो।
फुटबलसँग सबिनाको सम्बन्ध सन् २००७ मा आठ कक्षामा पढ्दा सुरु भयो जतिबेला बंगलादेशले पहिलो पटक राष्ट्रिय महिला फुटबल टिम बनाएको थियो। उनलाई सतखिरा जिल्ला फुटबल प्रशिक्षक अकबरले फुटबलसँग परिचित गराएका थिए।
विद्यालय स्तर, अन्तरविद्यालय र अन्तर जिल्लास्तरमा राम्रो खेलेको कारण उनलाई बंगलादेशको महिला राष्ट्रिय फुटबल टिममा बोलाइएको थियो।
सन् २००९ मा उनले बंगलादेशको राष्ट्रिय टिममा स्थान बनाएकी थिइन्। २०१० मा बंगलादेशले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दा उनी पनि टिममा थिइन्।
त्यसयता राष्ट्रिय टिमबाट लगातार १३ वर्ष खेलेकी सविनाले सन् २०१५ देखि बंगलादेशको राष्ट्रिय टिमको कप्तानी गर्दै आएकी छिन्।