छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप जित्ने नेपालको लक्ष्य अधुरै रह्यो।
लगातार फाइनलमा पुगेर पनि असफल भइरहेको नेपालको यसपटक घरेलु मैदानमा उपाधि जितेर समर्थकसँग खुसी साट्ने सपना पूरा हुन सकेन।
सोमबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशसँग ३-१ गोलले पराजित भएसँगै नेपाल विगत १२ वर्षमा दशौं पटक फाइनलमा पराजित भयो।
नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पाँच पटक पराजित भइसकेको छ। नेपाल साफ च्याम्पिनयसिपमा नेपाल २०१०, २०१२, २०१४, २०१९ र २०२२ को फाइनलमा पराजित हुँदा उपविजेतामै चित्त बुझाउन बाध्य भयो।
साफमा सुरुवाती चार फाइनलमा भारतले नेपाललाई हराएको थियो। सन् २०१० को फाइनलमा १-०, २०१२ को फाइनलमा ३-१, २०१४ को फाइनलमा ६-० र २०१९ को फाइनलमा ३-१ गोलले पराजित भएको थियो।
सोमबार भएको बंगालदेशविरुद्धको फाइनलमा पनि नेपाल ३-१ गोलले हार्दा १२ वर्षमा दशौं फाइनलमा पराजित हुन बाध्य भयो।
यस्तै दक्षिण एसियाली फुटबल (साग) अन्तर्गत महिला फुटबलमा नेपाल तीन पटक फाइनलमा पुगे पनि रजतमा खुम्चिएको थियो।
नेपाल २०१०, २०१६ र २०१९ को सागको फाइनलमा पुगेको थियो। तर तीनै फाइनलमा भारतसँग पराजित भयो। सन् २०१० को सागको स्वर्ण भिडन्तमा नेपाल ३-१ ले हारेको थियो। सन् २०१६ मा ४-० र सन् २०१९ मा २-० ले नेपालले फाइनल गुमाएको थियो।
यस्तै भारतको हिरो गोल्डकप र कीर्गिस्तानमा भएको नाडेज्दा कपमा पनि फाइनलमा पुगेको थियो। तर ती दुवै फाइनलमा नेपाल सफल हुन सकेन।
सन् २०१९ मा हिरो गोल्डकपको समूह चरणमा नेपालले भारतलाई हराएर इतिहास बनाएको थियो। सावित्रा भण्डारी साम्बाको दुई गोलको मद्दतमा २-१ ले खेल जित्दै नेपालले पहिलोपटक भारतमाथि जित निकालेको थियो।
चार देश सहभागी हिरो गोल्डकपको उपाधिका लागि नेपाल र म्यानमार भिडेका थिए। तर नेपाल ३-१ ले पराजित हुँदा फेरि उपाधिबाट बिमुख बन्यो।
सन् २०१९ मै नेपाल किर्गिस्तानमा भएको नाडेज्दा कपको फाइनलमा पुग्यो। उज्वेकिस्तान, नेपाल, ताजिकिस्तान र किर्गिस्तान गरी चार देश सहभागी प्रतियोगिताको उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिडेका थिए। जसमा नेपाल ३-२ गोलले पराजित भयो।
नेपालका लागि सन् २०१९ पीडदायी वर्ष सावित बन्यो। नेपाल साफ, साग, हिरो गोल्डकप र नाडेज्दा कप गरी चार फाइलनलमा पराजित भयो।
यसरी १२ वर्षको बीचमा १० फाइनल खेल्दा पनि नेपाल उपाधि जित्न नसक्नुको कारण के होला?
सोमबारको फाइनलपछि नेपालका प्रशिक्षक कुमार थापाले महिला फुटबलर अनुभव र उनीहरूमाथि लगानीको कुरा उठाए।
‘हाम्रो स्तर नराम्रो होइन। किनभने हामी लगातार फाइनल पुगिरहेका छौं। तर हाम्रो घरेलु फुटबलको अवस्था हेर्ने हो भने हामी काहाँ छौं भन्ने थाहा हुन्छ। विभागीय तीन टिम (आर्मी, पुलिस, एपिएफ) बाहेक महिला फुटबलका लागि क्लब छैन,’ थापाले भने, ‘यसलाई सम्बोधन गर्न एन्फाले कसरी योजना बनाउछ भन्ने कुरा छ। महिलालाई अनुभव दिलाउन कसरी प्रतियोगिता आयोजना गर्छ र खेलाडीलाई कसरी एक्सपोजर दिलाउने कुरा महत्वपूर्ण छ।'
उनले नेपाली टिममा प्रतिभाको कमी नभएको बताउँदै ती खेलाडीलाई अनुभवी बनाउनका लागि मौका दिनु पर्ने बताए। महिला फुटबलको घरेलु संरचनामा ध्यानु दिनु पर्ने उनको भनाइ छ।
‘तीन वटा विभागमा बाहेक खेलाडी छैनन्। ९० जना खेलाडीले नेपाली महिला फुटबल धान्न सक्दैन,’ उनले भने, ‘यस विषयमा एन्फाले योजना बनाउछ होला।’
नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले पनि टिमको प्रदर्शन राम्रो भएको बताइन्। तर खेल अनुभवको कमी भएको उनको भनाइ छ।
‘हामीमा म्याच एक्पोजरको कमी छ। यस्तो फाइनल खेल्नका लागि धेरै अनुभव चाहिन्छ,’ उनले भनिन्।
नेपाल महिला फुटबलका लागि एन्फाले एउटा लिग प्रतियोगिता गर्छ। यस्तै नेपाल आर्मीले पनि राष्ट्रिय प्रतियोगिता गर्ने गरेको छ। यी बाहेक महिला फुटबलका गतिविधि न्यून हुने गरेका छन्।