बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले साफ महिला च्याम्पियनसिप विजेता बंगलादेशकी गोलकिपर रुप्ना चक्माका लागि उनको गृहनगर रंगामाटीमा घर बनाइदिन निर्देशन दिएकी छन्।
नेपालमा सोमबार सम्पन्न साफ महिला च्याम्पियनसिपमा उत्कृष्ट गोलकिपरको ट्रफी जितेकी १८ वर्षीय चक्मा रंगमाटीकी नानियारचरकी हुन्।
साफको फाइनलमा घरेलु टिम नेपाललाई ३-१ गोलले पराजित गर्दै बंगलादेशले पहिलो पटक उपाधि जितेको थियो।
बंगलादेशले पहिलोपटक साफको उपाधि जिते लगत्तै गोलकिपर रुप्नाको जिर्ण घरको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो।
प्रधानमन्त्री हसिनाका प्रेस सचिव एहसानुल करीम अनुसार रुप्नाको घर बनाइदिन सम्बन्धित अधिकारीलाई निर्देशन दिएको ढाका ट्रिब्युनले जनाएको छ।
यता बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले पहिलोपटक साफ महिला च्याम्पियनसिपमा च्याम्पियन बनेको राष्ट्रिय महिला फुटबल टिमलाई ५० लाख टाका (६१ लाख ५३ हजार रूपैयाँ) नगद पुरस्कार दिने घोषणा गरेको छ।
बीसीबीका अध्यक्ष नजमुल हसनले महिला फुटबलरहरूको सफलताको प्रशंसा गर्दै पुरस्कर दिने घोषणा गरेका छन्।