राष्ट्रिय फुटबल टोलीका कार्यवाहक मूख्य प्रशिक्षक प्रदीप हुमागाईँले आगामी असोज ११ मा दशरथ रंगशालामा हुने बंगलादेशविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्।
नेपाल र बंगलादेशबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ।
बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा हुमागाईले टोलीको घोषणा गरेका हुन्।
राष्ट्रिय टोलीका लागि पहिलो पटक आशिष चौधरी र ऋतिक खड्कालाई बोलाइएको छ।
यसअघि एसियन कप छनोट खेल्दाका कप्तान नवयुग श्रेष्ठ टिममा छैनन्।
यस्तै यू-२३ टिमका कप्तान आयुष घलान पनि टिममा परेका छैनन्। यू-२० एसिया कप छनोटमा अनुशासनहिन व्यवहार देखाएका उनलाई प्रशिक्षकले राष्ट्रिय टिममा स्थान नदिएका हुन्।
यस्तै सुनील बल र गौतम श्रेष्ठ चोटका कारण टिममा पर्न असफल भएको प्रशिक्षकले बताए।
एसियन कप छनोटमा तत्कालिन प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँग विवादमा परेर टिमबाहिर रहेका अधिकांश खेलाडी टिममा फर्किएका छन्।
नेपाली टोली
गोलकिपरः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल
मिडफिल्डरः सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट
फरवार्डः विमल घर्तिमगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी