आगामी मंगलबार नेपालसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने तयारीमा रहेको बंगलादेशले गएराति कम्बोडियालाई हराएको छ।
फिफा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण खेलमा बंगलादेशले कम्बोडियालाई १-० गोल अन्तरमा हराएको हो।
कम्बोडियाको घरेलु मैदान मोरोडोक टेक्नो नेशनल स्टेडियममा भएको खेलमा बंगलादेशलाई जिताउन रकिब हुसेनले २३ औं मिनेटमा निर्णायक गोल गरे।
यो जितसँगै बंगलादेशले आफ्ना स्पेनिस प्रशिक्षक जाभियर क्याब्रेराको नेतृत्वमा सात खेलपछि पहिलो जित निकालेको हो।
फिफा वरीयतामा बंगलादेशभन्दा १८ स्थान अगाडि रहेको कम्बोडियासँग अपराजित रहेको बंगलादेशले ५ खेलमध्ये चारमा जित र १ मा बराबरी नतिजा निकालेको छ।
यही टोलीले आगामी असोज ११ गते काठमाडौंमा नेपालसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्नेछ।
बंगलादेशविरूद्ध खेल्न नेपाली टोलीसमेत घोषणा भइसकेको छ।