युइएफए नेसन्स लिगमा स्वीट्जरल्यान्डसँग पराजित हुँदै स्पेन समूहको दोस्रो स्थानमा झरेको छ।
घरेलु मैदानमा भएको खेलमा स्विट्जरल्याण्डसँग २-१ गोल अन्तरमा पराजित हुँदै स्पेन दोस्रो स्थानमा झरेको हो।
यही समूहको अर्को खेलमा चेक रिपब्लिकलाई ४-०ले हराएको पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ।
स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गर्दा घरेलु टोलीका लागि जोर्डी अल्वाले एक गोल फर्काए।
जारागोजामा शनिबार राति भएको खेलको २१औं मिनेटमा एकान्जीको गोलबाट स्वीट्जरल्यान्डले सुरूवाती अग्रता लियो।
पहिलो हाफमा १-० ले पछि परेको स्पेनले खेलको ५५औं मिनेटमा जोर्डी अल्वाको गोलबाट खेलमा फर्कियो। तर स्पेनको बराबरी गोल गरेको तीन मिनेटमै ब्रिल इम्वोलोले गोल गर्दै स्वीट्जरल्यान्डलाई खेलमा २–१ ले अघि बढाए। त्यसपछि थप गोल निस्कन नसक्दा स्वीट्जरल्यान्ड विजयी भयो। ७५ प्रतिशत बल पोसेसन राखे पनि स्पेनले गोल गर्न नसक्दा हार व्यहोर्नु पर्यो।
यो जितसँगै स्वीट्जरल्यान्ड लिग ए ग्रुप दुई बाट ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा झरेको छ। पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा रहँदा चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा पुगेको छ।