बंगलादेशविरूद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पहिलो हाफमा ३-० गोलको अग्रता लिएको छ।
दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि पहिलो हाफमै अञ्जन बिष्टले ह्याट्रिक गरे।
अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तीमगरको फ्रिकिकमा उनले हेडमार्फत् बललाई जाली चुमाएका थिए।
त्यसअघि खेलको १७ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाएको थियो। बंगलादेशका कप्तान जमाल भुयाले डिबक्स नजिकबाट हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो।
अञ्जनले खेलको २७ मिनेटमा अग्रता दोब्बर पारे। तेज तामाङको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेका थिए। रिबाउन्डमा डिबक्समा रहेका अञ्जनले उत्कृष्ट फिनिसिङ गरेका थिए।
अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे। विशाल राईको फ्रिकिङमा सिक्सयार्ड बक्सबाट अनमार्क रहेका अञ्जनले तेस्रो गोल गरेका थिए। अञ्जनले नेपालका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भए।
यससँगै अञ्जनले अन्तर्राष्ट्रिय गोल संख्या १०* पुर्याएका छन्।
*सच्याइएको
सबै तस्बिर: नवीनबाबु गुरूङ