अञ्जन विष्टले पहिलो हाफमा गरेको ह्याट्रिकमा नेपालले बंगलादेशलाई पराजित गरेको छ।
मंगलबार दशरथ रंगशालामा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई ३-१ गोलले पराजित गर्यो।
अञ्जनले खेलको १८ मिनेटमा पहिलो गोल गरे। विमल घर्तिमगरको फ्रिकिकमा उनले हेडमार्फत बललाई जाली चुमाएका थिए।
त्यसअघि खेलको १७ मिनेटमा बंगलादेशले खेलमा अग्रता लिने सुन्दर अवसर गुमाएको थियो। बंगलादेशका कप्तान जमाल भुयाले डिबक्स नजिकबाट हानेको फ्रिकिक बारमा लागेर बाहिरिएको थियो।
अञ्जनले खेलको २७ मिनेटमा नेपालको अग्रता दोब्बर पारे। तेज तामाङको प्रहार बंगलादेशका गोलकिपर अनिसुर रहमानले पञ्च गरेका थिए। रिबाउन्डमा डिबक्समा रहेका अञ्जनले उत्कृष्ट फिनिसिङ गरेका थिए।
अञ्जनले ३८ मिनेटमा ह्याट्रिक गरे। विशाल राईको फ्रिकिकमा सिक्सयार्ड बक्सबाट अनमार्क रहेका अञ्जनले तेस्रो गोल गरेका थिए। अञ्जनले नेपालका लागि २० मिनेटभित्रमा ह्याट्रिक पूरा गर्न सफल भए।
बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगलादेशका लागि साजाद हुसेनले ५५ मिनेटमा गोल गरेका थिए।
बंगलादेशविरूद्ध ह्याट्रिक पूरा गरेसँगै अञ्जनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १० पुर्याएका छन्। यस्तै उनी नेपालका लागि ह्याट्रिक गर्ने छैठौं खेलाडी बनेका छन्।
यसअघि नेपालका लागि गणेश थापा, निराजन रायमाझी, नरेश जोशी, भरत खवास र नवयुग श्रेष्ठले ह्याट्रिक गरेका थिए।
खेलमा दुई खेलाडीले नेपाली टिमबाट डेब्यू गरे। ८१ मिनेटमा ऋतिक खड्का सेसेहाङ आङदेम्बे र आशिष चौधरी विमल घर्तिमगरको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टिममा डेब्यू गरे।
सबै तस्बिरः नवीनबाबु गरूङ/ सेतोपाटी